‘ओली हटाउने होइन, कोर्स करेक्सन’ : एमाले बैठकमा पोखरेलको स्पष्टीकरण, नेतृत्वभित्रको दूरीबारे बहस चर्कियो
काठमाडौं, ६ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन खोजेको नभई पार्टी पुनर्गठन र ‘कोर्स करेक्सन’को सुझाव दिएको स्पष्ट पारेका छन्।
अध्यक्ष र महासचिवबीच दूरी बढेको तथा नेतृत्व परिवर्तनको प्रयास भएको चर्चा चलिरहेका बेला पोखरेलको यो स्पष्टीकरण आएको हो।
पार्टी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सम्बोधन गर्दै पोखरेलले कार्यदलमा आएको सुझावलाई आधार बनाएर आफूले पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने धारणा राखेको बताएका छन्। तर त्यसलाई अध्यक्ष ओलीलाई हटाउने प्रस्तावका रूपमा बुझिएको उनको भनाइ थियो।
बैठकमा सहभागी एक नेताका अनुसार पोखरेलले अध्यक्ष र आफूबीच फाटो ल्याउने प्रयास भइरहेको संकेतसमेत गरेका थिए। उनले कार्यदलबाट आएका सुझावको आशय नेतृत्वलाई विस्थापित गर्ने नभई पार्टीभित्र देखिएका समस्या सच्याउँदै अघि बढ्ने रहेको बताएका थिए।
‘अध्यक्षले मैले हटाउने कुराको बुझ्नुभएछ। कार्यदलमा आएको सुझावका आधारमा अब सबैजना कोर्स करेक्सनमा जानुपर्छ भनेका हौँ। उहाँ र मेरो बीचमा फाटो ल्याउन खोजियो, दूरी बढ्यो,’ पोखरेलले भनेको ती नेताले बताए।
पोखरेलको यो भनाइसँगै एमालेभित्र पछिल्लो समय सतहमा आएका नेतृत्व, संगठन र पार्टी सञ्चालनसम्बन्धी असन्तुष्टिको बहस फेरि केन्द्रमा आएको छ। महासचिव स्वयंले अध्यक्षसँगको सम्बन्धमा दूरी बढेको स्वीकार गरेपछि बैठकमा भइरहेको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यद्यपि, पोखरेलले ओलीको नेतृत्वमाथि प्रश्न उठाउने वा तत्काल नेतृत्व परिवर्तनको पक्षमा आफू रहेको स्पष्ट संकेत दिएका छैनन्। बरु उनले कार्यदलको सुझावलाई पार्टी सुधार तथा पुनर्गठनको सन्दर्भमा बुझ्नुपर्ने धारणा राखेका छन्।
यसबीच केन्द्रीय कमिटी बैठक भने अध्यक्ष ओलीकै नेतृत्वमा अघि बढिरहेको छ। बैठकको दोस्रो दिन पनि ओली स्वयंले बैठक सञ्चालन गरिरहेका छन्। प्रारम्भमा उनले पदाधिकारीहरूलाई धारणा राख्न समय दिएका थिए। प्रत्येक पदाधिकारीका लागि १५ मिनेटको समय तोकिएको थियो।
तर अहिलेसम्म उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलले मात्रै आफ्नो धारणा राखेका छन्। त्यसपछि केन्द्रीय सदस्यहरूले वर्णानुक्रमअनुसार बैठकमा आफ्ना विचार राखिरहेका छन्।
एमालेको आन्तरिक राजनीतिमा पछिल्लो समय नेतृत्वको कार्यशैली, पार्टी पुनर्गठन, संगठनात्मक सुधार र आगामी राजनीतिक रणनीतिबारे बहस चलिरहेको अवस्थामा केन्द्रीय कमिटी बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
विशेषगरी महासचिव पोखरेलले सार्वजनिक रूपमा नै ‘कोर्स करेक्सन’को आवश्यकता औँल्याएपछि यो केवल शब्दको चयन हो कि पार्टीभित्र गहिरिँदै गएको असन्तुष्टिको संकेत ? भन्ने प्रश्नसमेत उठेको छ।
तर बैठकमा सहभागी नेताहरूका धारणा बाहिरिँदै जाँदा मात्रै यो बहसको वास्तविक दिशा स्पष्ट हुने देखिन्छ। अहिलेका लागि भने एमालेको केन्द्रीय कमिटी बैठकमा ओलीको नेतृत्व कायमै राख्दै पार्टीभित्र सुधारको बाटो खोज्ने कि संगठनात्मक पुनर्संरचनालाई थप अगाडि बढाउने भन्ने विषय मुख्य बहसको केन्द्रमा देखिएको छ।
यो पनि पढ्नुहोस् :
एमालेमा ज्ञवालीको तेस्रो प्रतिवेदन : ओलीको बचाउ, हारका अनेक कारण
