Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार | रासस/एएफपी

इरानी उड्डयन क्षेत्रमा अमेरिकी प्रतिबन्ध कडा पारिनुअघि इरानको राष्ट्रिय वायुसेवा कम्पनी ‘इरान एयर’ले छिमेकी मुलुकतर्फका आफ्ना उडानमा कुनै प्रतिबन्धबारे आधिकारिक जानकारी नपाएको जनाएको छ ।

    सरकारी समाचार संस्था ‘इर्ना’ (आईआरएनए)मार्फत जारी विज्ञप्तिमा ‘इरान एयर’ले टर्की, अजरबैजान र इराकका नागरिक उड्डयन अधिकारीबाट इस्तानबुल, बाकु र नजफतर्फका उडान रोक्न वा स्थगन गर्न कुनै सूचना वा निर्देशन प्राप्त नभएको जनाएको हो ।

    अमेरिकाले यसै महिनाको सुरुमा इरानी उड्डयन क्षेत्रलाई कालोसूचीमा राख्दै इरानी वायुसेवा कम्पनीसँग कारोबार गर्ने संस्थामाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो ।

    अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार अमेरिकी प्रतिबन्धका कारण बुधबारदेखि इरानी वायुसेवा कम्पनीलाई सञ्चालनमा कठिनाइ हुने बताउनुभएको थियो । उहाँले सीएनबीसीसँगको अन्तर्वार्तामा विश्वभरका इरानी वायुसेवा कम्पनी प्रभावित हुने दाबी गर्नुभएको थियो । 

    इरानी उड्डयन क्षेत्र यसअघि नै विभिन्न अमेरिकी प्रतिबन्धको सामना गर्दै आएकाले नयाँ प्रतिबन्धपछि तत्काल व्यवहारमा कस्तो प्रभाव पर्नेछ भन्ने स्पष्ट छैन ।

    इरानमा २७ वटा वायुसेवा कम्पनी सञ्चालनमा रहेकामा अधिकांशले आन्तरिक उडान गर्दै आएका छन् । ‘इरान एयर’ र निजी वायुसेवा कम्पनी ‘महान एयर’ अन्तरराष्ट्रिय उडान गर्ने प्रमुख दुई कम्पनी हुन् । उनीहरूले मुख्यतः छिमेकी मुलुकका साथै रुस र चीनतर्फ पनि उडान सञ्चालन गर्छन् ।

    सोमबार जर्जियाले इरानी वायुसेवा कम्पनीलाई आफ्नो क्षेत्रमा उडान गर्न रोक लगाएको थियो । यसैगरी ‘महान एयर’ले टर्की सरकारको अनुरोधमा टर्कीतर्फका उडान स्थगन गरेको जनाएको छ ।

    इराकका दुई स्रोतले एएफपीलाई बताएअनुसार अमेरिकी अर्थ मन्त्रालयको घोषणापछि बगदादले पनि इरानी वायुसेवा कम्पनीका उडान स्थगन गर्ने तयारी गरेको छ ।

    नयाँ प्रतिबन्धले इरानी नागरिकका लागि विदेश यात्रा तथा स्वदेश फर्कने प्रक्रिया थप जटिल हुने देखिएको छ ।

    फेब्रुअरीको अन्त्यमा इरानमाथि इजरायल र अमेरिकाले गरेको आक्रमणपछि इरानको हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरिएको थियो । त्यसयता हवाई सेवा आंशिक रूपमा पुनः सञ्चालन भए पनि इरानबाट यात्रुलाई विदेश लैजाने मुख्य जिम्मेवारी इरानी वायुसेवा कम्पनीले नै सम्हाल्दै आएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan