‘विपद्को सामाजिक–आर्थिक प्रभाव’ विषयमा अर्याललाई विद्यावारिधि
काठमाडौँ, १ असोजः जलवायु परिवर्तन, जनस्वास्थ्य, विपद् जोखिम न्यूनीकरण, आपत्कालीन व्यवस्थापन तथा सङ्कट प्रतिकार्यका क्षेत्रमा तीन दशकभन्दा बढी व्यतित गर्नुभएको पिताम्बर अर्यालले विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ ।
उहाँले भारतको राजस्थान नेवाइस्थित डा के एन मोदी विश्वविद्यालयबाट ‘विपद्को सामाजिक–आर्थिक प्रभाव (विपद्को समाजशास्त्र)’ विषयमा हालै सो विद्यावारिधि हासिल गर्नुभएको हो । डा अर्यालले युरोपबाट जनस्वास्थ्य, भारतबाट समाजशास्त्र र नेपालबाट स्वास्थ्य शिक्षा विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । उहाँले अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्टहरुको महासङ्घ, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, डेनिस रेडक्रस तथा क्यानेडियन रेडक्रसलगायत संस्थामा प्राविधिक तथा व्यवस्थापकीय भूमिकामा एकदशकभन्दा बढी समय काम गर्नुभएको छ ।
उहाँले व्यावसायिक जीवनको महत्वपूर्ण हिस्सा नेपाल रेडक्रस सोसाइटीको स्वास्थ्य सेवा विभाग, विपद् व्यवस्थापन विभाग तथा युवा रेडक्रस विकासमा नेतृत्वदायी जिम्मेवारीहरु सम्हाल्नुभएको थियो । साथै उहाँले नेपाल रेडक्रस सोसाइटीको महामन्त्रिको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो ।
डा अर्यालको व्यावसायिक दक्षता तथा योगदान विशेषगरी जनस्वास्थ्य, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, आपत्कालीन प्रतिकार्य तथा पुनःस्थापना र सामुदायिक विकासका क्षेत्रमा केन्द्रित छ । उहाँ हाल नेपाल युनाइटका वरिष्ठ सल्लाहकार तथा डिपिनेटका सल्लाहकारका रुपमा पनि कार्यरत हुनुहुन्छ ।
