चार महिनापछि १ असोजदेखि खुल्यो सार्वजनिक सवारीसाधन दर्ता
काठमाडौं । सरकारले करिब चार महिनापछि सार्वजनिक सवारीसाधनको दर्ता प्रक्रिया पुनः खुला गरेको छ। यातायात व्यवस्था विभागले आगामी १ असोजदेखि लागू हुने गरी सर्तसहित यात्रुवाहक सार्वजनिक सवारीसाधनको दर्ता खुला गर्ने निर्णय गरेको हो।
विभागका अनुसार काठमाडौं उपत्यकाबाहेकका क्षेत्रमा विद्युतीय सार्वजनिक सवारीसाधन (ईभी) लाई प्राथमिकता दिँदै दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउने उद्देश्यसहित उपत्यकाबाहिरको दर्तामा ईभीलाई प्राथमिकता दिइएको विभागले जनाएको छ।
तर, काठमाडौं उपत्यकामा भने सबै प्रकारका सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको छैन। उपत्यकाभित्र स्कुल बस तथा सट्टाभर्नाका लागि ल्याइने सवारीसाधन मात्र दर्ता गर्न पाउने व्यवस्था गरिएको छ।
यसअघि विभागले २०८३ जेठ ७ गते सूचना जारी गर्दै अर्को निर्णय नभएसम्म नेपाल भित्रिने सम्पूर्ण सार्वजनिक सवारीसाधनको दर्ता रोक्का गरेको थियो। त्यसपछि साउन १८ गतेदेखि मालवाहक सवारीसाधनको दर्ता भने खुला गरिएको थियो। अहिले यात्रुवाहक सार्वजनिक सवारीसाधनको दर्ता पनि निश्चित सर्तसहित खोलिएको हो।
निर्णय कार्यान्वयनका लागि विभागले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका यातायात व्यवस्थापन हेर्ने सम्बन्धित मन्त्रालय तथा देशभरका स्थानीय तहलाई आवश्यक निर्देशन दिइसकेको छ।
विभागका अनुसार यसअघि नै ८ असारसम्म एलसी खोलिसकेका र नेपाल भित्रिसकेका सार्वजनिक सवारीसाधनलाई समेत दर्ता गर्ने व्यवस्था गरिएको छ। नयाँ व्यवस्थासँगै सार्वजनिक यातायात क्षेत्रमा लामो समयदेखि रोकिएको सवारीसाधन दर्ता प्रक्रिया क्रमशः सहज हुने अपेक्षा गरिएको छ।
