यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय
काठमाडौँ, ४ मङ्सिरः मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमण स्वीकृत गर्नाका साथै चीन सरकारले अनुदानस्वरुप प्रदान गर्ने २० लाख अमेरिकी डलर स्वीकार गर्ने निर्णय गरेको छ ।
बैठकले अन्तरराष्ट्रिय मुद्रा कोषले प्रदान गर्ने १० करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने तथा सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बताउनुभयो ।
यसैगरी, राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०), ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड, २०८३ तथा राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री तिमिल्सिनाले जानकारी दिनुभयो ।
आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सार्वजनिक गरेका हुन्।
- २०८३ मंसिर ६ र ७ गते सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।
- चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा र तत्कालीन आपत्कालीन उद्धार कार्यका लागि प्राप्त हुने २ मिलियन डलर नगद अनुदान सहायता स्वीकार गर्ने ।.
- अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिट क्रिडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबर निर्व्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
- नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने ।
- राष्ट्रिय जैविक विविधता, रणनीति तथा कार्ययोजना २०२६ - २०३० स्वीकृत गर्ने ।
- ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ स्वीकृत गर्ने ।
- राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने ।


