पाकिस्तानी मन्त्री क्षेत्रीय बैठकमा सहभागी हुन भारतमा
नयाँदिल्ली, ४ मङ्सिर : भारत र पाकिस्तानबीच गत वर्ष भएको घातक सैन्य द्वन्द्वपछि पहिलोपटक पाकिस्तानी सरकारका एक मन्त्री क्षेत्रीय बैठकमा सहभागी हुन शुक्रबार नयाँ दिल्ली आइपुग्नुभएको छ ।
पाकिस्तानका जलवायु परिवर्तनमन्त्री मुसादिक मलिकले साङ्घाई सहयोग सङ्गठन (एससीओ) को सांस्कृतिक बैठकमा आफ्नो देशको प्रतिनिधित्व गरिरहनुभएको छ ।
सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएयता भारत र पाकिस्तानबीच मुख्यतः काश्मीर क्षेत्रको विवादलाई लिएर पटकपटक युद्ध तथा तनाव हुँदै आएको छ । दुवै देशले दाबी गर्दै आएको मुस्लिमबहुल काश्मीरलाई लिएर गत वर्ष पनि दुई देशबीच चार दिनसम्म सैन्य द्वन्द्व भएको थियो ।
पाकिस्तानका पूर्वविदेशमन्त्री बिलावल भुट्टो जरदारीले सन् २०२३ मा भारतको गोवामा आयोजित एससीओ बैठकमा भाग लिनुभएको थियो ।
त्यसपछि भारतीय विदेशमन्त्री एस जयशङ्कर सन् २०२४ मा इस्लामाबादमा भएको एससीओ बैठकमा सहभागी हुनुभएको थियो । मलिकको भ्रमण त्यसयता पाकिस्तानी मन्त्रीको पहिलो भारत भ्रमण हो ।
चार दिनसम्म चल्ने बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एससीओको ‘सभ्यतागत संवाद मञ्च’ लाई सम्बोधन गर्ने कार्यक्रम छ ।
क्षेत्रको साझा सभ्यतागत सम्पदाको प्रवर्द्धन, जनस्तरको सम्बन्ध विस्तार तथा अन्तरसांस्कृतिक संवाद र सहकार्यलाई प्रोत्साहन गर्नु बैठकको उद्देश्य रहेको आयोजकले जनाएका छन् ।
भारत प्रशासित काश्मीरमा पर्यटकमाथि भएको आक्रमणपछि सन् २०२५ मा दुई देशबीच तनाव चर्किएर सैन्य द्वन्द्वमा परिणत भएको थियो ।
भारतले उक्त आक्रमणमा पाकिस्तानको समर्थन रहेको आरोप लगाए पनि इस्लामाबादले अस्वीकार गरेको थियो । त्यसपछि ड्रोन, क्षेप्यास्त्र र तोपखानाबाट भएका आक्रमणमा दुवै पक्षका कम्तीमा ७० जनाको मृत्यु भएको थियो ।
मलिकको भ्रमण भारतका सुरक्षा बलले पाकिस्तानमा सक्रिय संयुक्त राष्ट्रसङ्घद्वारा आतङ्कवादी घोषित लस्कर–ए–तैयबाका कमान्डर लतिफ भटलाई मारेको दुई दिनपछि भएको हो ।
दुई देशबीचको तनाव खेलकुदमा समेत देखिएको छ । सुरक्षा चिन्ता जनाउँदै पाकिस्तानले यस वर्ष भारतमा आयोजित एसियाली हक्की प्रतियोगिताबाट आफ्नो राष्ट्रिय टोली फिर्ता बोलाएको थियो ।


