Thursday 19th of November | २०८३ मङ्सिर ३ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिंगापुरका ’फिनटेक’ कम्पनीमा एआईको प्रभाव बढ्दो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार | (रासस/सिन्ह्वा)

सिंगापुरका वित्तीय प्रविधि (फिनटेक) कम्पनीहरूमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तीव्र रूपमा बढेको एक अध्ययनले देखाएको छ । अध्ययनअनुसार सिंगापुरका ८६ प्रतिशत फिनटेक कम्पनीले एआई प्रविधि प्रयोगमा ल्याइसकेका छन् ।

सिंगापुर फिनटेक एसोसिएसन, एयरवाल्लेक्स र काप्रोनेसियाले संयुक्त रूपमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार ९४ प्रतिशत फिनटेक कम्पनीले सन् २०२७ मा एआईसम्बन्धी आफ्नो बजेट बढाउने योजना बनाएका छन् ।

प्रतिवेदनले एआई प्रविधिको प्रयोग व्यापक भए पनि यसबाट व्यावसायिक आम्दानी बढाउने सम्भावनाको उपयोग भने अपेक्षाकृत कम भएको देखाएको छ । सर्वेक्षणमा सहभागी कम्पनीमध्ये केवल चार प्रतिशतले नयाँ आम्दानी सिर्जना गर्नुलाई एआई प्रविधिको सबैभन्दा ठूलो लाभका रूपमा पहिचान गरेका छन् ।

प्रतिवेदनअनुसार सिंगापुरका फिनटेक कम्पनीमा एआई प्रयोगको दर त्यहाँका वित्तीय संस्थाहरूको तुलनामा बढी छ । सिंगापुरका वित्तीय संस्थामा एआई प्रयोगको दर ६५ प्रतिशत रहेको छ भने विश्वभरका फिनटेक कम्पनीमा यस्तो दर ६२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

सिंगापुरका १०० फिनटेक कम्पनीका नेतृत्वकर्तासँग गरिएको सर्वेक्षण र उद्योगका १० वरिष्ठ विज्ञसँग लिइएको विस्तृत अन्तर्वार्ताका आधारमा प्रतिवेदन तयार पारिएको हो । यसका लागि सन् २०२६ को जुलाईदेखि सेप्टेम्बरसम्म तथ्याङ्क सङ्कलन गरिएको थियो ।

प्रतिवेदनले सिंगापुरका फिनटेक कम्पनीमा एआई प्रविधिको प्रयोग र यसमा लगानी गर्ने इच्छा उच्च रहेको देखाए पनि त्यसलाई नयाँ व्यावसायिक अवसर तथा आम्दानी वृद्धिसँग जोड्नुपर्ने चुनौती औँल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan