Thursday 19th of November | २०८३ मङ्सिर ३ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाकिस्तानमा २२ आतङ्ककारी मारिएको सेनाको दाबी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार | (रासस-एपी)

इस्लामावाद, ३ मङ्सिर : अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा सुरक्षा बलले गरेको कारबाहीमा २२ जना आतङ्ककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ । गुप्तचर सूचनाका आधारमा खैबर पख्तुनख्वा प्रान्तका विभिन्न स्थानमा गरिएको छापामा उनीहरू मारिएको सेनाले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

सेनाका अनुसार दक्षिण वजीरिस्तान, बन्नु र ट्याङ्क जिल्लामा पछिल्लो ४८ घण्टामा कारबाही गरिएको थियो । मारिएका आतङ्ककारीलाई भारतको समर्थन रहेको आरोपसमेत सेनाले लगाएको छ । यसबारे भारतले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । पाकिस्तानले यसअघि पनि अफगानिस्तान र भारतले पाकिस्तानी तालिबान तथा अन्य आतङ्कवादी समूहलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ । दुवै देशले भने ती आरोप अस्वीकार गर्दै आएका छन् ।

पाकिस्तानी सेनाले गत साता उत्तरपश्चिमी क्षेत्र र दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तका विभिन्न लुकेका स्थानमा गरेको कारबाहीमा ७४ जना आतङ्ककारी मारिएको जनाएको थियो । सेनाले बाँकी रहेका आतङ्ककारीको खोजी जारी रहेको र विदेशी समर्थनमा भइरहेको भनिएको आतङ्कवादी गतिविधिविरुद्ध कारबाही निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले छुट्टाछुट्टै वक्तव्य जारी गर्दै भारत समर्थित भनिएका आतङ्ककारीलाई मारिएको भन्दै सुरक्षा बलको प्रशंसा गर्नुभएको छ । उहाँहरूले आतङ्कवादविरुद्धको लडाइँ जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आतङ्ककारी र तिनका समर्थकलाई पाकिस्तानमा अशान्ति फैलाउन नदिने बताउनुभएको छ । आतङ्कवादविरुद्ध लडिरहेका सुरक्षा फौजको साथमा सिङ्गो राष्ट्र रहेको उहाँहरूको भनाइ छ ।

पाकिस्तानमा पछिल्ला वर्षहरूमा प्रहरी तथा सुरक्षा बललाई लक्षित गरी हुने आतङ्कवादी आक्रमण बढेका छन् । अधिकारीहरूले अधिकांश घटनामा तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) र त्यससँग आबद्ध अन्य आतङ्कवादी समूहको संलग्नता रहेको आरोप लगाउँदै आएका छन् ।

पाकिस्तानी तालिबान अफगानिस्तानको तालिबानभन्दा अलग सङ्गठन भए पनि सन् २०२१ मा काबुलमा सत्ता कब्जा गरेको तालिबानसँग सम्बन्धित छ । टिटिपीका धेरै नेता तथा लडाकू अफगानिस्तानको सीमापार क्षेत्रमा रहेका सुरक्षित आश्रयस्थलबाट गतिविधि सञ्चालन गरिरहेको विश्वास गरिन्छ । यसै कारण इस्लामाबाद र काबुलबीचको सम्बन्ध तनावपूर्ण बन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan