एससीओ सभ्यता संवादमा पाकिस्तानको सहभागिता
इस्लामाबाद, ३ मङ्सिर : भारतको नयाँदिल्लीमा नोभेम्बर २० देखि २२ सम्म आयोजना हुने पहिलो साङ्घाई सहयोग सङ्गठन (एससीओ) सभ्यता संवाद मञ्चमा पाकिस्तानले उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी गराउने भएको छ ।
जलवायु परिवर्तन तथा वातावरणीय समन्वयमन्त्री मुसादिक मसूद मलिकको नेतृत्वमा पाकिस्तानी टोलीले उक्त कार्यक्रममा भाग लिने पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मन्त्री मलिकले मञ्चमा पाकिस्तानको प्रतिनिधित्व गर्दै सभ्यताबीचको संवादको महत्त्व र कूटनीतिक सम्बन्ध विस्तारमा यसको भूमिकाबारे आफ्नो देशको धारणा प्रस्तुत गर्नुहुनेछ । उहाँको सम्बोधनमा पाकिस्तानको सांस्कृतिक तथा सभ्यतागत विविधता र एससीओमा देशले निर्वाह गर्दै आएको रचनात्मक भूमिकासमेत समेटिनेछ ।
पाकिस्तानको सहभागितालाई संवाद, सहकार्य र आपसी समझदारी प्रवद्र्धन गर्ने एससीओको ‘साङ्घाई भावना’ प्रतिको प्रतिबद्धताका रूपमा मन्त्रालयले व्याख्या गरेको छ ।
पाकिस्तानले सन् २०२६–२७ का लागि राष्ट्रप्रमुखहरूको एससीओ परिषद्को अध्यक्षता गरिरहेको छ । यस अवधिमा इस्लामाबादले आगामी शिखर सम्मेलनअघि मन्त्रिस्तरीय बैठक, विशेषज्ञ समूहका छलफल तथा अन्य कार्यक्रम आयोजना गर्नेछ ।
भारतले पहिलो सभ्यता संवाद मञ्चमा एससीओका सबै १० सदस्य राष्ट्र, पर्यवेक्षक मुलुक तथा संवाद साझेदारलाई आमन्त्रण गरेपछि पाकिस्तानको सहभागिता निश्चित भएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पनि विभिन्न देशलाई निमन्त्रणा पठाइएको पुष्टि गर्दै नयाँदिल्लीले उक्त कार्यक्रम आयोजना गर्न लागेको बताउनुभएको थियो ।
भारतको पहलको उद्देश्य युरेसियाली क्षेत्रमा सांस्कृतिक आदानप्रदान, सभ्यताबीच आपसी समझदारी र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउनु रहेको छ ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले गत अक्टोबर २० मा ताजिकिस्तानको दुसान्बेमा आयोजित एससीओ सरकारप्रमुखहरूको परिषद्को बैठकलाई सम्बोधन गर्दै पहिलो सभ्यता संवाद मञ्च आयोजना गर्ने योजना सार्वजनिक गर्नुभएको थियो ।
भारत, पाकिस्तान, चीन र रुससहित १० सदस्य राष्ट्र रहेको एससीओमा भारत सन् २०१७ मा पूर्ण सदस्य बनेको थियो ।


