नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव
काठमाडौँ, २४ कात्तिकः उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक भएको बताउनुभएको छ ।
नेपाल संवत् ११४७ को शुभारम्भको अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपतिले राष्ट्रिय विभूति शङ्खधर साख्वाले लोककल्याणको भावनाबाट प्रेरित भई पीडित जनतालाई ऋणमुक्त गराएको ऐतिहासिक कार्यले नेपाली समाजमा सेवा, परोपकार र सामाजिक उत्तरदायित्वको उच्च आदर्श स्थापित गरेको बताउनुभएको छ ।
साख्वाले देखाउनुभएको मानवतावादी मार्ग आज पनि हाम्रो राष्ट्रिय जीवनका लागि उत्तिकै प्रेरणादायी र अनुकरणीय रहेको उपराष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ ।
“नयाँ वर्षको प्रारम्भसँगै आत्मसमीक्षा, नवीन सङ्कल्प र सकारात्मक परिवर्तनको अवसर प्राप्त हुन्छ, नेपाल संवत्ले हामीलाई विगतको गौरव मात्रको स्मरण गराउँदैन, वर्तमानलाई जिम्मेवार ढङ्गले आत्मसात् गर्दै भविष्यलाई अझ उज्यालो बनाउने प्रेरणा पनि प्रदान गर्दछ”, शुभकामना सन्देशमा उपराष्ट्रपतिले भन्नुभएको छ ।
उहाँले नेपालको यस मौलिक संवत्ले सम्पूर्ण नेपालीमा पारस्परिक विश्वास, सामाजिक सद्भाव, सहयोग, शान्ति र सहकार्यको भावना अभिवृद्धि गरोस् भनी कामना गर्नुभएको छ । “युवा पुस्तामा सिर्जनशीलता, उद्यमशीलता र राष्ट्रनिर्माणप्रतिको प्रतिबद्धता विकास गरोस् । साथै, हामी सबैलाई लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता तथा राष्ट्रिय हितको संरक्षण र सम्वर्धनमा थप जिम्मेवार र सक्रिय बन्न प्रेरित गरोस्”, सन्देशमा भनिएको छ ।
उपराष्ट्रपति यादवले समुन्नत, समावेशी, न्यायपूर्ण र समृद्ध नेपालको साझा आकांक्षा पूरा गर्ने यात्रामा नेपाल संवत्ले सम्पूर्ण देशवासीलाई सकारात्मक ऊर्जा, प्रेरणा र आत्मविश्वास प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।


