इतिहासको साक्षी बुकाचोगढी : राष्ट्रिय एकताको गौरवगाथा जोगाउँदै र जगाउदै नेपाली सेना
उपत्यका विजयको रणनीतिक केन्द्रदेखि ऐतिहासिक पर्यटनको नयाँ गन्तव्यसम्म; सम्पदा संरक्षणमा सेनाको अग्रसरता, इतिहासको पुनर्जीवनसँगै स्थानीय समृद्धिको सम्भावना
भक्तपुर, १८ कात्तिक । इतिहास केवल विगतको सम्झना होइन, राष्ट्रको पहिचान, स्वाभिमान र भविष्य निर्माणको आधार पनि हो।
कुनै पनि मुलुकको राष्ट्रिय अस्तित्व त्यसको भूगोल, संस्कृति, सभ्यता र ऐतिहासिक विरासतसँग गाँसिएको हुन्छ। तर समयको प्रवाहसँगै ओझेलमा पर्दै गएका ऐतिहासिक गढी, किल्ला, युद्धस्थल, पाटीपौवा तथा पुरातात्त्विक सम्पदाको संरक्षण र संवर्धन हुन नसके इतिहासका महत्त्वपूर्ण अध्याय नै हराउने जोखिम रहन्छ।
यही यथार्थलाई आत्मसात् गर्दै नेपाली सेनाले मुलुकका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको पहिचान, अन्वेषण, उत्खनन, संरक्षण र प्रवर्धनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ।
राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षामा समर्पित नेपाली सेना केवल सुरक्षा र प्रतिरक्षाको संस्थामा सीमित छैन।
राष्ट्रिय विपद्का बेला उद्धार र राहत, विकास निर्माण, सडक पूर्वाधार, अन्तर्राष्ट्रिय शान्ति स्थापना अभियान, धार्मिक तथा सामाजिक गतिविधि र ऐतिहासिक सम्पदा संरक्षणसम्म सेनाको उपस्थिति देखिन्छ। राष्ट्रको इतिहास जोगाउने अभियानमा सेनाले देखाएको सक्रियता यसको संस्थागत जिम्मेवारीप्रतिको अर्को महत्त्वपूर्ण आयाम हो।
यही अभियानको एउटा उदाहरण हो– भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा अवस्थित ऐतिहासिक बुकाचोगढी। कुनै समय काठमाडौं उपत्यका विजयको सैन्य रणनीतिसँग जोडिएको यो गढी अहिले इतिहास, राष्ट्रिय एकता, धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगमका रूपमा नयाँ पहिचान निर्माण गर्दैछ।
इतिहासको गर्भमा लुकेको सामरिक महत्त्व
भक्तपुर सदरमुकामबाट करिब पाँच किलोमिटर दक्षिण–पूर्वमा अवस्थित बुकाचोगढी सामान्य डाँडो वा मनोरम दृश्यावलोकन स्थल मात्रै होइन। यो नेपालको एकीकरण अभियानसँग जोडिएको ऐतिहासिक र सामरिक महत्त्व बोकेको स्थल हो।
अग्लो भूभागमा अवस्थित यस गढीबाट काठमाडौं उपत्यका र काभ्रे जिल्लाका विभिन्न बस्तीहरू सहजै अवलोकन गर्न सकिन्छ। भौगोलिक अवस्थिति र चारैतिरको दृश्यावलोकन क्षमताका कारण विगतमा पनि यो स्थान सैन्य दृष्टिले महत्त्वपूर्ण रहेको देखिन्छ।
इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेतृत्वमा सञ्चालित नेपाल एकीकरण अभियानका क्रममा गोरखाली सेनाले काठमाडौं उपत्यका विजयका लागि मल्लकालीन पुराना किल्लाहरूलाई सामान्य मर्मतसम्भार गरी रणनीतिक गढीका रूपमा उपयोग गरेको थियो।
वि.सं. १८२६ कात्तिक २९ गते गोरखाली सेनाले भक्तपुरमाथि विजय हासिल गर्दा बुकाचोगढीलाई सामरिक भ्यान्टेज प्वाइन्ट तथा भन्सार चौकीका रूपमा प्रयोग गरिएको ऐतिहासिक विवरण पाइन्छ।
यसले बुकाचोगढीको महत्त्व केवल स्थानीय इतिहासमा सीमित नभई नेपालको एकीकरण अभियानसँग प्रत्यक्ष रूपमा जोडिएको पुष्टि गर्छ।
त्यतिबेला आधुनिक सञ्चार प्रणाली, प्रविधि र यातायातको सुविधा थिएन। अग्ला डाँडा, भञ्ज्याङ र किल्लाहरू नै सैनिक गतिविधि सञ्चालन, शत्रुको आवागमन निगरानी तथा रणनीतिक योजना निर्माणका प्रमुख आधार हुन्थे। यस्तो अवस्थामा बुकाचोगढीजस्तो अग्लो र भौगोलिक दृष्टिले अनुकूल स्थान सैन्य गतिविधिका लागि महत्त्वपूर्ण हुनु स्वाभाविक थियो।
आज यही ऐतिहासिक स्थलबाट उपत्यकाको मनोरम दृश्य नियाल्न सकिन्छ। हिजो युद्ध रणनीति र सैन्य निगरानीको केन्द्र बनेको भूभाग आज इतिहास बुझ्ने, प्रकृतिसँग रमाउने र पर्यटकीय सम्भावना खोज्ने गन्तव्यमा रूपान्तरण हुँदैछ। इतिहासको यही परिवर्तनशील यात्राले बुकाचोगढीलाई थप विशिष्ट बनाएको छ।
एकीकरणको इतिहास जोगाउने सेनाको अभियान
नेपालको एकीकरण केवल भूगोल जोड्ने राजनीतिक तथा सैन्य अभियान थिएन। यो विविध जाति, भाषा, संस्कृति, परम्परा र सभ्यतालाई एउटै राष्ट्रिय पहिचानमा आबद्ध गर्ने ऐतिहासिक प्रक्रिया पनि थियो।
त्यसैले एकीकरणसँग सम्बन्धित गढी, किल्ला र युद्धस्थलको संरक्षण गर्नु भनेको राष्ट्रिय एकताको ऐतिहासिक आधार जोगाउनु हो।
नेपाली सेनाले नेपाल सरकारसँगको समन्वयमा एकीकरण मार्गको पहिचान तथा त्यस क्षेत्रमा पर्ने ऐतिहासिक र पुरातात्त्विक सम्पदाको संरक्षण, संवर्धन र प्रवर्धनलाई प्राथमिकतामा राख्दै आएको छ।
देशका विभिन्न भागमा रहेका ऐतिहासिक गढी, किल्ला, युद्धस्थल तथा पुराना संरचनाको पहिचान गरी तिनको ऐतिहासिक महत्त्व उजागर गर्ने काम भइरहेको छ।
यस अभियानले दुईवटा महत्त्वपूर्ण उद्देश्य पूरा गर्न सहयोग पुर्यााउँछ। पहिलो, भावी पुस्ताका लागि इतिहास र राष्ट्रिय सम्पदाको संरक्षण। दोस्रो, ऐतिहासिक स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरी स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अवसर।
बुकाचोगढीको संरक्षण पनि यही राष्ट्रिय अभियानको निरन्तरता हो। नेपाली सेनाले सूर्यविनायक नगरपालिकासँग सहकार्य गरी यस ऐतिहासिक स्थलको पुनरुत्थान गरेको हो। ऐतिहासिक पहिचानलाई आधुनिक संरचनासँग जोड्दै गढीलाई आकर्षक स्वरूप प्रदान गरिएको छ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार अमरगढी शैलीमा ६० फिट लम्बाइ र ६० फिट चौडाइको गढी निर्माण गर्ने अवधारणाअनुरूप यसको संरचना विकास गरिएको हो।
हाल पृथ्वीनारायण शाहको पूर्णकदको सालिकसहित गढीको मुख्य भाग निर्माण गरिएको छ। यसले एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गराउनुका साथै स्थलको ऐतिहासिक पहिचानलाई थप जीवन्त बनाएको छ।
वि.सं. २०७९ पुस १५ गते सुरु गरिएको निर्माण कार्य २०८० जेठ ३२ गते सम्पन्न भएको थियो। २०८० असार १५ गते उद्घाटन गरिएको उक्त संरचना असार ३१ गते औपचारिक रूपमा सूर्यविनायक नगरपालिकालाई हस्तान्तरण गरिएको थियो।
यसअघि नेपाली सेनाले आर्थिक वर्ष २०७८/०७९ मा करिब ६० फिट अग्लो भ्यु टावर निर्माण गरी सूर्यविनायक नगरपालिकालाई हस्तान्तरण गरेको थियो। गढी र भ्यु टावरको विकासले यस क्षेत्रको पर्यटकीय आकर्षण थप बढाएको छ।
चार भञ्ज्याङ र उपत्यकाको सुरक्षा रणनीति
काठमाडौं उपत्यकाको ऐतिहासिक सामरिक संरचना बुझ्न यसका प्रवेश मार्ग र भञ्ज्याङहरूको महत्त्व पनि उत्तिकै छ। उपत्यकाको भौगोलिक बनोटले यसलाई चारैतिरबाट पहाडले घेरेको प्राकृतिक कचौरा बनाएको छ।
ऐतिहासिक रूपमा उपत्यकाका प्रमुख प्रवेश मार्ग तथा भञ्ज्याङहरूलाई सैन्य निगरानी, आवागमन नियन्त्रण र सुरक्षाका दृष्टिले महत्त्वपूर्ण मानिन्थ्यो।
उपत्यकाको पश्चिमतर्फ थानकोटको चन्द्रागिरि क्षेत्र हुँदै आउने मार्ग, पूर्वतर्फ साँगा, उत्तरतर्फ पाँचमाने र दक्षिणतर्फ फर्पिङ क्षेत्रका भञ्ज्याङ तथा प्रवेश मार्गहरूले ऐतिहासिक रूपमा विशेष महत्त्व राख्दै आएका छन्। स्थानीय भूगोल र ऐतिहासिक सन्दर्भअनुसार यी मार्गको सामरिक उपयोग फरक–फरक रहेको थियो।
यस्ता भौगोलिक प्रवेशद्वारमा रहेका गढी र किल्लाहरू केवल सैनिक संरचना थिएनन्। तिनले राज्यको सुरक्षा, व्यापारिक आवागमन, कर संकलन र प्रशासनिक निगरानीमा समेत भूमिका निर्वाह गर्थे।
यही सन्दर्भमा बुकाचोगढीलाई काठमाडौं उपत्यकाभित्रका महत्त्वपूर्ण ऐतिहासिक गढीमध्ये एकका रूपमा लिन सकिन्छ। यसको अवस्थिति, दृश्यावलोकन क्षमता र एकीकरणकालीन ऐतिहासिक सम्बन्धले यसको विशिष्टता स्थापित गरेको छ।
इतिहासका यस्ता स्थललाई केवल ढुंगा, माटो र पुराना पर्खालका रूपमा हेर्नु पर्याप्त हुँदैन। तिनको संरक्षणभित्र राष्ट्रको विगत, संघर्ष, रणनीति र सामूहिक स्मृति सुरक्षित हुन्छ।
धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम
बुकाचोगढीको अर्को विशिष्ट पक्ष यस वरिपरि रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाहरू हुन्। आशापुरी महादेव, अनन्तलिङ्गेश्वर, डोलेश्वर महादेव र मुण्डलेश्वरजस्ता पवित्र धार्मिक स्थलहरूको निकटताले यस क्षेत्रलाई धार्मिक पर्यटनका दृष्टिले पनि महत्त्वपूर्ण बनाएको छ।
विशेषगरी डोलेश्वर महादेव हिन्दु धर्मावलम्बीहरूको गहिरो आस्था र श्रद्धाको केन्द्रका रूपमा परिचित छन्। धार्मिक दर्शन, ऐतिहासिक अवलोकन र प्राकृतिक सौन्दर्यको अनुभव एकै यात्रामा लिन सकिने सम्भावना यस क्षेत्रको ठूलो विशेषता हो।
बुकाचोगढीबाट देखिने काठमाडौं उपत्यकाको दृश्य, वरिपरिका हरियाली डाँडा, पहाडी बस्ती र खुला आकाशले पर्यटकलाई आकर्षित गर्छन्। शहरी कोलाहलबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेका लागि यो उपयुक्त गन्तव्य बन्न सक्छ।
धार्मिक स्थलको दर्शनसँगै ऐतिहासिक गढीको अवलोकन, भ्यु टावरबाट दृश्यावलोकन र पदयात्राको अनुभव लिन सकिने भएकाले यस क्षेत्रलाई एकीकृत पर्यटकीय सर्किटका रूपमा विकास गर्न सकिन्छ।
नगरकोटदेखि लाकुरी भञ्ज्याङसम्मको पर्यटन सम्भावना
बुकाचोगढी नगरकोट–साँगा–बुकाचोगढी–रानीकोट–लाकुरी भञ्ज्याङ पदमार्गसँग जोडिएको छ। यसले यस क्षेत्रलाई केवल एउटा गढीमा सीमित नराखी विस्तृत पदयात्रा तथा ऐतिहासिक पर्यटन मार्गका रूपमा विकास गर्ने सम्भावना देखाएको छ।
नेपालमा पर्यटन भन्नासाथ हिमाल, ताल र प्रसिद्ध धार्मिक स्थललाई मात्र प्राथमिकता दिने प्रवृत्ति छ। तर उपत्यकाको आसपास रहेका ऐतिहासिक गढी, पुराना किल्ला, सांस्कृतिक बस्ती र पदमार्गलाई व्यवस्थित रूपमा विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ आकर्षण सिर्जना हुन सक्छ।
बुकाचोगढी त्यसको एउटा सम्भावनायुक्त उदाहरण हो। यहाँ आउने पर्यटकले नेपालको एकीकरण इतिहास बुझ्न सक्छन्, पृथ्वीनारायण शाहको योगदानबारे जानकारी लिन सक्छन्, धार्मिक स्थलहरूको भ्रमण गर्न सक्छन् र प्रकृतिको मनोरम दृश्यमा रमाउन सक्छन्।
यसले स्थानीय स्तरमा होमस्टे, होटल, रेस्टुरेन्ट, स्थानीय उत्पादन बिक्री, यातायात, गाइड सेवा तथा अन्य साना व्यवसायको विकासमा सहयोग पुर्याणउन सक्छ। पर्यटनको लाभ स्थानीय बासिन्दासम्म पुग्न सके मात्र सम्पदा संरक्षणको अभियान दिगो बन्न सक्छ।
त्यसैले बुकाचोगढीलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न स्थानीय तह, नेपाली सेना, पर्यटनसम्बद्ध निकाय, निजी क्षेत्र र समुदायबीच सहकार्य आवश्यक छ। व्यवस्थित प्रचारप्रसार, सूचना केन्द्र, ऐतिहासिक विवरणसहितका संकेत बोर्ड, पदमार्गको स्तरोन्नति र सरसफाइमा ध्यान दिन सके यसको आकर्षण अझ बढाउन सकिन्छ।
सुरक्षा, विकास र राष्ट्र निर्माणमा सेनाको बहुआयामिक भूमिका
नेपाली सेनाको मूल दायित्व मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको रक्षा गर्नु हो। तर बदलिँदो राष्ट्रिय आवश्यकता र चुनौतीसँगै सेनाको योगदान सुरक्षा क्षेत्रभन्दा बाहिरका विभिन्न क्षेत्रमा पनि विस्तार भएको छ।
दुर्गम क्षेत्रमा सडक निर्माण, विपद् व्यवस्थापन, प्राकृतिक प्रकोपमा उद्धार तथा राहत, अन्तर्राष्ट्रिय शान्ति स्थापना अभियान र सामाजिक तथा धार्मिक गतिविधिमा सेनाले निरन्तर भूमिका निर्वाह गर्दै आएको छ।
विशेषगरी राष्ट्रिय गौरवका सडक आयोजना र रणनीतिक महत्त्वका पूर्वाधार निर्माणमा सेनाको सहभागिताले दुर्गम क्षेत्रको पहुँच विस्तारमा योगदान पुर्यासएको छ। कठिन भौगोलिक अवस्था, जोखिमपूर्ण भूभाग र चुनौतीपूर्ण परिस्थितिमा काम गर्नुपर्ने आयोजनामा सेनाको प्राविधिक तथा व्यवस्थापकीय क्षमताको उपयोग हुँदै आएको छ।
अर्कोतर्फ संयुक्त राष्ट्रसंघको आह्वानमा विभिन्न मुलुकमा शान्ति स्थापना कार्यमा नेपाली सेनाको सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान र प्रतिष्ठा बढाएको छ। विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि खटिएका नेपाली सैनिकहरूले व्यावसायिकता, अनुशासन र समर्पणको परिचय दिँदै आएका छन्।
भूकम्प, बाढीपहिरो, हिमपात, आगलागी तथा अन्य प्राकृतिक विपद्का बेला उद्धार र राहतमा सेनाको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ। जोखिमपूर्ण परिस्थितिमा नागरिकको जीवन रक्षा गर्न सेनाले देखाउने तत्परता राष्ट्रिय सुरक्षाको मानवीय पक्षको उदाहरण हो।
यसका साथै धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिमा सहभागिता र ऐतिहासिक सम्पदाको संरक्षणले सेनाको राष्ट्रप्रतिको जिम्मेवारीलाई थप व्यापक बनाएको छ।
सम्पदा संरक्षण : भविष्यका पुस्ताप्रतिको जिम्मेवारी
इतिहास जोगाउनु भनेको विगतको प्रशंसा गर्नु मात्र होइन, वर्तमान पुस्तालाई आफ्नो पहिचानसँग जोड्नु र भावी पुस्तालाई आफ्नो सभ्यता बुझ्ने आधार उपलब्ध गराउनु पनि हो।
नेपालका धेरै ऐतिहासिक गढी र किल्लाहरू समयको प्रभाव, बेवास्ता, अतिक्रमण र संरक्षणको अभावका कारण जीर्ण अवस्थामा पुगेका छन्।
कतिपय स्थलको ऐतिहासिक महत्त्वबारे स्थानीय समुदायलाई समेत पर्याप्त जानकारी छैन। कतिपय संरचनाको पहिचान र अभिलेखीकरण हुन नसक्दा तिनको वास्तविक ऐतिहासिक महत्त्व ओझेलमा परेको छ।
यस्तो अवस्थामा नेपाली सेनाले विभिन्न निकायसँग समन्वय गरी ऐतिहासिक सम्पदाको पहिचान र संरक्षणमा देखाएको सक्रियता सकारात्मक पहल हो। तर संरक्षणको काम निर्माण सम्पन्न भएपछि सकिने विषय होइन।
त्यसको नियमित मर्मतसम्भार, ऐतिहासिक तथ्यको अभिलेखीकरण, प्रामाणिकता कायम राख्ने कार्य र स्थानीय समुदायको सहभागिता उत्तिकै आवश्यक हुन्छ।
बुकाचोगढीको संरक्षणले एउटा महत्त्वपूर्ण सन्देश दिएको छ– राष्ट्रको इतिहास जोगाउने दायित्व कुनै एक संस्था वा निकायको मात्रै होइन। सरकार, सुरक्षा निकाय, स्थानीय तह, इतिहासविद्, पुरातत्त्वविद्, नागरिक समाज र स्थानीय बासिन्दा सबैको साझा जिम्मेवारी हो।
गढीको ऐतिहासिक महत्त्वलाई थप प्रामाणिक बनाउन यससँग सम्बन्धित पुराना दस्तावेज, मौखिक इतिहास, नक्सा र पुरातात्त्विक प्रमाणहरूको व्यवस्थित अध्ययन आवश्यक छ। त्यस्तै, पर्यटकीय विकासका क्रममा ऐतिहासिक संरचनाको मौलिक स्वरूप र वातावरणमा असर नपर्ने गरी काम गर्नुपर्छ।
इतिहासलाई पर्यटन र समृद्धिसँग जोड्ने अवसर
आजको आवश्यकता केवल ऐतिहासिक संरचना निर्माण गर्नु होइन, त्यसलाई जीवित इतिहासका रूपमा स्थापित गर्नु हो। बुकाचोगढीमा निर्माण भएको संरचना र भ्यु टावरले पर्यटकीय आकर्षण बढाउने आधार तयार गरेका छन्। अब यसको ऐतिहासिक परिचयलाई देशभित्र र बाहिर व्यापक रूपमा प्रचारप्रसार गर्न आवश्यक छ।
विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीका लागि इतिहास अध्ययन भ्रमण, नेपाली सेनाका ऐतिहासिक अभियानसँग सम्बन्धित जानकारीमूलक कार्यक्रम, पदयात्रा प्रतियोगिता, सांस्कृतिक उत्सव र पर्यटन प्रवर्धनका गतिविधि सञ्चालन गर्न सकिन्छ।
त्यस्तै, डिजिटल माध्यमबाट बुकाचोगढीको इतिहास, एकीकरणकालीन सामरिक महत्त्व, पृथ्वीनारायण शाहको योगदान र वरिपरिका धार्मिक स्थलको जानकारी उपलब्ध गराउन सके नयाँ पुस्तालाई आकर्षित गर्न सकिन्छ।
यसले स्थानीय युवाका लागि रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्नेछ। स्थानीय उत्पादनले बजार पाउनेछ। धार्मिक तथा ऐतिहासिक पर्यटनको विस्तारसँगै सूर्यविनायक क्षेत्रको आर्थिक गतिविधि पनि बढ्न सक्छ।
इतिहासको सम्मान, राष्ट्रिय एकताको आधार
बुकाचोगढीको महत्त्व एउटा गढीको पुनर्निर्माणमा मात्रै सीमित छैन। यसले नेपालको एकीकरण अभियान, ऐतिहासिक सामरिक रणनीति, धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र पर्यटन विकासलाई एउटै भूगोलमा जोडेको छ।
हिजो उपत्यका विजयको रणनीतिक निगरानीस्थलका रूपमा प्रयोग भएको बुकाचोगढी आज इतिहासको साक्षी बनेर उभिएको छ। पृथ्वीनारायण शाहको पूर्णकदको सालिकले एकीकरणको ऐतिहासिक नेतृत्वलाई स्मरण गराउँछ भने गढीको संरचनाले भावी पुस्तालाई विगतको गौरव बुझ्ने अवसर प्रदान गर्छ।
नेपाली सेनाले सम्पदा संरक्षणमा गरेको योगदानले राष्ट्रिय सुरक्षा केवल सीमाको रक्षा र सैन्य शक्तिको प्रदर्शनमा मात्र सीमित हुँदैन भन्ने सन्देश पनि दिएको छ। राष्ट्रको इतिहास, संस्कृति र सामूहिक पहिचानको संरक्षण पनि राष्ट्रिय सुरक्षाको व्यापक अवधारणासँग जोडिएको विषय हो।
राष्ट्रको भूगोल जोगाउने सेनाले इतिहासको भूगोल पनि जोगाउनुपर्छ भन्ने भावनालाई बुकाचोगढीजस्ता अभियानले सार्थक बनाएका छन्। तर यसको दिगोपनका लागि संरक्षणसँगै व्यवस्थापन, प्रचारप्रसार र स्थानीय सहभागितालाई निरन्तरता दिनु अपरिहार्य छ।
इतिहासलाई बिर्सने राष्ट्रले आफ्नो पहिचान कमजोर बनाउँछ। इतिहासलाई संरक्षण गर्ने राष्ट्रले आफ्नो भविष्यलाई बलियो आधार दिन्छ। बुकाचोगढीको पुनरुत्थान यही राष्ट्रिय चेतनाको एउटा उदाहरण हो।
अन्ततः बुकाचोगढी केवल पुरानो किल्ला होइन, यो नेपालको एकीकरणको स्मृति, राष्ट्रिय स्वाभिमानको प्रतीक र स्थानीय समृद्धिको सम्भावना बोकेको ऐतिहासिक धरोहर हो।
यसको संरक्षण र प्रवर्धनमा नेपाली सेनाले देखाएको अग्रसरता इतिहासप्रतिको सम्मान मात्र होइन, राष्ट्रिय एकता र भावी पुस्ताप्रतिको जिम्मेवारीको अभिव्यक्ति पनि हो।
यो पनि पढ्नुहोस् :
भक्तपुरको डोलेश्वर महादेव : जहाँ आस्थाले शिर झुकाउँछ, श्रद्धाले मन जोड्छ
घ्याम्पे डाँडादेखि डोलेश्वरसम्म सेनासँग सञ्चारकर्मीको सहयात्रा, प्रकृति र सद्भावको अनुपम संगम

