सुँडीखोला पुल उद्घाटन
बनेपा (काभ्रे), २३ कात्तिकः काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० र १२ जोड्ने सुँडीखोलामा निर्माण भएको मोटरेबल पुल सञ्चालनमा आएको छ । पुलको सोमबार बागमती प्रदेशसभा सदस्य तीर्थ लामाले उद्घाटन गर्नुभएको हो ।
पुलको कूल लागत रु एक करोड ७९ लाख ७५ हजार रहेको छ । पूर्वाधार विकास कार्यालय, धुलिखेल र रोशी गाउँपालिका–२ स्थित एम/एस लामा प्रगति निर्माण सेवाबीच पुल निर्माणका लागि सम्झौता भएको थियो । निर्माण व्यवसायीले १७ महिनामा सो पुल निर्माण सम्पन्न गरेको हो ।
प्रदेशसभा सदस्य लामाले आव २०७९/०८० को बजेटमा सो पुल निर्माणका लागि आवश्यक व्यवस्था गरिएको स्मरण गर्नुभयो । धुलिखेल नगरपालिका–१० का वडाध्यक्ष गोविन्दप्रसाद भण्डारीले पुल सञ्चालनमा आएपछि सवारी आवागमन सहज र सुरक्षित हुनुका साथै स्थानीय कृषिउपज बजारसम्म पुर्याउन र आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने बताउनुभयो ।


