पश्चिमी टर्कीको स्टिल कारखानामा विस्फोट, तीन जनाको मृत्यु र १० बेपत्ता
पश्चिमी टर्कीको एक फलाम तथा स्टिल कारखानामा सोमबार भएको विस्फोट र त्यसपछिको आगलागीमा परी तीन जनाको मृत्यु भएको छ भने १० जना कामदार बेपत्ता भएका छन् । बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् ।
इज्मिर प्रान्तको आलियागास्थित ‘हाबास’ कारखानामा भएको घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रान्तीय गभर्नरको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । भग्नावशेषमा फसेका १० जनाको खोजी भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रसारक संस्था ‘एनटिभी’ले कारखानामा लागेको ठूलो आगो र आकाशमा उठिरहेको धुवाँको मुस्लो देखिने दृश्य प्रसारण गरेको छ ।
प्रत्यक्षदर्शी नुरी अली उल्करलाई उद्धृत गर्दै सरकारी समाचार संस्था ‘आनादोलु’ले जनाएअनुसार विस्फोट यति शक्तिशाली थियो कि जमिन नै हल्लिएको थियो ।
आन्तरिक मामिलामन्त्री मुस्तफा सिफ्टचीले आपत्कालीन उद्धार टोलीले आगो नियन्त्रणमा लिनुका साथै प्रभावित कामदारहरूको खोजी गरिरहेको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा घाइतेहरूलाई अस्पताल पु¥याइएको र उनीहरूको स्वास्थ्य अवस्थाबारे निगरानी भइरहेको उल्लेख गर्नुभयो ।
गभर्नरको कार्यालयका अनुसार सोमबार दिउँसो तरल स्टिल ढाल्ने क्रममा माथि रहेको क्रेन भट्टीभित्र खसेपछि विस्फोट भएको हो । घटनाबारे अनुसन्धान सुरु गरिएको कार्यालयले जनाएको छ ।
आलियागा ठूलो बन्दरगाहका साथै पुराना जहाज भत्काउने उद्योगका लागि पनि परिचित छ । यस क्षेत्रमा सञ्चालित जहाज भत्काउने उद्योगले वातावरणमा गम्भीर असर पु¥याएको भन्दै आलोचना हुँदै आएको छ । युरोपेली सङ्घको जहाज पुनर्चक्रण सुविधासम्बन्धी सूचीबाट यहाँका जहाज भत्काउने केन्द्रहरू हटाउनुपर्ने मागसमेत उठ्दै आएको छ ।
यो घटना विश्व नेताहरू तथा वातावरण अभियन्ताहरू जलवायु परिवर्तन नियन्त्रणसम्बन्धी वार्ताका लागि टर्कीको भूमध्यसागरीय तटीय सहर अन्टाल्यामा भेला भएका बेला भएको हो ।
कम्पनीको वेबसाइटका अनुसार सन् १९८७ मा स्थापना भएको हाबास कारखानाको वार्षिक स्टिल उत्पादन क्षमता ४५ लाख टन रहेको छ ।


