अपडेटः इरानको हर्मुजमा तीन ट्याङ्करमा आगलागी
इरानले आफ्नो अनुमति बिना ट्रान्जिट गर्ने जहाजहरूलाई लक्षित गरिरहेको हर्मुज क्षेत्रको जलमार्गमा तीन तेल ट्याङ्करहरूमा आइतबार आगलागी भएको छ ।
रिभोलुसनरी गाड्र्सले एक विज्ञप्ति जारी गरी अनुमति बिना ट्रान्जिट गरेका कार्गो जहाजमा आगलागी भएको जनाएको हो ।
फेब्रुअरीको अन्त्यमा इरान युद्ध सुरु भएदेखि तेहरानले रणनीतिक जलमार्गबाट हुने यातायातमा कडा प्रतिबन्ध लगाएको छ र जहाजहरूलाई इस्लामिक गणतन्त्रले अनुमति दिएको मार्गहरू प्रयोग गर्न आग्रह गरेको छ।
जवाफमा संयुक्त राज्य अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लगाएको छ र ट्याङ्करहरूलाई हर्मुज घाँटीमा यात्रा गर्न मद्दत गरेको छ । हर्मुजको बाटो भएर आपूर्ति हुने इन्धनले विश्वभरी हुने इन्धनको मागको पाँच भागको एक भाग आवश्यकतालाई सम्बोधन गर्छ ।
इरानको सेनाको वैचारिक शाखा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “आइतबार बिहानैदेखि अनुपालन नगरेका तीनवटा ट्याङ्कर ‘स्ट्रेट अफ हर्मुज’को अवैध मार्गमा यात्रा गरिरहेका बेला विस्फोट भएका छन् ।”
गार्डहरूले ट्याङ्करहरूको नाम वा राष्ट्रियता निर्दिष्ट गरेनन्।
बेलायती सामुद्रिक एजेन्सी यूकेएमटीओले एक दिनअघि ओमानको खासाब तटमा रहेको जलडमरूमध्यमा एउटा ट्याङ्करमा आगलागी भएको जनाएको थियो ।
एजेन्सीले एक विज्ञप्तिमा भनेको छ, “सैन्य अधिकारीहरूले चालक दललाई जहाजबाट उद्धार गरिएको तर ट्याङ्करमा आगो लागेको रिपोर्ट गरेका छन् ।
ओमानको खाडीमा जलिरहेको जहाजबाट २२ जनाको उद्धार गरिएको र उनीहरुको अवस्था सामान्य रहेको इमिराती सरकारी सञ्चारमाध्यमले आइतबार जनाएको छ ।
विभिन्न रिपोर्टहरूले एउटै घटनालाई सन्दर्भित गरेको छ कि छैन भन्ने पुष्टि हुन सकेको छैन ।
तेहरानले हालैका हप्ताहरूमा हर्मुज घाँटीमा धेरै जहाजहरूमा आगलागी भएको घोषणा गरेको छ।
अमेरिकी सेन्ट्रल कमान्डले गत महिना गेष्म यामदेखि हर्मुज हुँदै खाडी देशहरूलाई १.५ अर्ब ब्यारेल तेल निर्यात गर्न मद्दत गरेको बताएको थियो । कमान्डले हालसालै जलमार्गबाट सवै अवरोधहरू हटाइएको जनाएको थियो ।
इरानको सरकारी समाचार एजेन्सी (आइआरएनए)ले शनिबार अबेर देशका केही भागमा विस्फोटको आवाज सुनिएको जनाएको थियो ।
“केश्म, सिरिक, जास्क र बन्दर अब्बासमा विस्फोटको जस्तो आवाज सुनिएको थियो। आवाजको कारण थाहा हुन बाँकी नै छ,” समाचार एजेन्सीले टेलिग्राममा लेखेको छ।
आइआरएनएका अनुसार बन्दरगाह शहर जास्कमा यसको प्रभाव परेको पुष्टि भएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसअघि इरानमाथि पुनः कडा आक्रमण गर्ने सम्भावनाबारे कुरा गर्नुभएको थियो तर पछि उहाँ इरानमाथि आक्रमण गर्ने विचारबाट पछि हट्नुभएको थियो, तैपनि अमेरिकी सेनाले इरानमाथि कहिलेकाहीँ सीमित आक्रमण गर्दै आएको छ ।


