Sunday 8th of November | २०८३ कार्तिक २२ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २२ आइतबार |

गुल्मी, २२ कात्तिक (रासस)ः बढ्दो बसाईसराईका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै गएका छन् । रोजगारी र अवसरको खोजीमा युवा पुस्ता विदेशिने क्रम बढ्दो छ । तर छत्रकोट गाउँपालिका–२ ग्वाघाकी ५२ वर्षीया लक्ष्मी महत्राले भने अरूले छाडेका बाँझो जग्गामा व्यावसायीक रुपमा फूलखेती गरेर मनग्य आम्दानी गर्दै आउनु भएको छ । 

    महत्राले विगत पाँच वर्षदेखि बाँझो जग्गामा व्यावसायिक रुपमा सयपत्री फूल खेती गरेर पर्याप्त आम्दानी लिन थाल्नुभएको हो । गाउँमा बसाइँसराइका कारण प्रयोगविहीन बनेका जग्गालाई सदुपयोग गर्ने उद्देश्यले उहाँले स्थानीयको सहमतिमा रु पाँच हजारमा  तीन रोपनी जग्गा भाडामा लिएर हाइब्रिड जातको सयपत्री फूल खेती गर्नुभएको छ । भारतको गोरखपुरबाट रु ८० हजारको बीउ ल्याएर सुरु गर्नुभएको उहाँको व्यवसाय अहिले आम्दानीसँगै गाउँमा कृषि उद्यमको गतिलो उदाहरणसमेत बनेको छ ।

    महत्राले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा कुनै समस्या छैन । स्थानीय बलेटक्सारस्थित पैंचो पसलले उहाँले उत्पादन गरेका सबै फूल खरिद गर्दै आएको छ । पैंचो पसलले उहाँले उत्पादन गरेको फूल थोकमा प्रतिकिलो रु २२० का दरले १५ क्वीन्टल फूल खरिद गरेर लगिसेको छ । 

    महत्राले थोकमा प्रतिकिलो रु २२० र खुद्रामा रु २५० का दरले फूल बिक्री गर्दै आउनुभएको छ । गत वर्ष मात्रै उहाँले रु तीन लाख ५० हजारको फूल बिक्री गर्नुभएको थियो । यस वर्ष उत्पादन राम्रो भएकाले आम्दानीसमेत थप बढ्ने महत्राको भनाइ छ ।

    सयपत्री फूलको खेती सुरु गरेको करिब ९० दिनमा उत्पादन लिन सकिने महत्रा बताउनुहुन्छ । एक महिना जति मल्चिङ गरेर राख्ने र त्यसपछि ब्याडमा बिरुवा तयार गरेपछि रोप्ने गरिन्छ । बिरुवालाई आवश्यक मल, पानी र नियमित स्याहार गर्न सके पर्याप्त उत्पादन लिन सकिने उहाँ बताउनुहुन्छ ।

    अन्य कृषि उपजको तुलनामा फूल खेतीमा कम जोखिम र मनग्य आम्दानी हुने महत्राको अनुभव छ । बाँदरले पनि हानीनोक्सानी नगर्ने र चाँडै कुहिएर खेर नजाने भएका कारण फूल खेतीप्रति आकर्षण बढेको उहाँले बताउनुभयो । फूलमा डढेलो लाग्ने, मुन्टा मर्ने तथा किरा र पुतलीको प्रकोप देखिने समस्या भए पनि समयमै मलजल, भिटामिन र आवश्यक औषधि प्रयोग गरेर नियन्त्रण गर्न सकिने महत्राको भनाइ छ । 

    महत्राको बारीमा ढकमक्क फुलेका सयपत्री फूलले उत्पादन र आम्दानी मात्रै बढाएका छैनन्, गाउँको आकर्षणसमेत बढाएका छन् । फूलबारीमा तस्बिर खिच्न र टिकटक बनाउन आउनेको समेत घुइँचो लाग्ने गरेको छ । 

    महत्राको व्यवसायमा उहाँको परिवारजनको पनि साथ रहेको छ । उहाँको व्यवसायलाई श्रीमान र छोराबुहारीले पनि सघाउँदै आउनुभएको छ । गाउँमा प्रशस्त बाँझो जग्गा र कृषि सम्भावना रहेकाले विदेश जानुभन्दा स्वदेशमै मेहनत गर्न सके आत्मनिर्भर बन्न सकिने महत्राको विश्वास छ । मनमा इच्छाशक्ति, परिश्रम र उद्यमशीलता भए गाउँमै बसेर मनग्य  आम्दानी गर्न सकिने उहाँले बताउनुभयो ।

    स्थानीयको माग अनुसार अझै तीन क्वीन्टल जति फूल तिहारका लागि राखिदिएको महत्राले  बताउनुभयो । उहाँले उत्पादन गरेको फूल प्रतिकिलो रु २२० का दरले बिक्री गर्दा यस वर्ष फूलबाट मात्रै रु तीन लाख ९६ हजार आम्दानी हुने देख्निछ  । गत वर्ष रु तीन लाख ५० हजारको फूल बिक्री गर्नुभएकी महत्राले यस वर्ष त्यो भन्दा बढी आम्दानी हुने बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan