Sunday 8th of November | २०८३ कार्तिक २२ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २२ आइतबार | (रासस-एएफपी)

तेहरान, २२ कात्तिक : स्ट्रेट अफ होर्मुजमा नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि दुईवटा तेल ट्याङ्करमा आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले जनाएको छ ।

सरकारी समाचार संस्था आईआरएनएका अनुसार, आइतबार आईआरजीसीले ती ट्याङ्करहरू अनधिकृत जलमार्ग प्रयोग गरी अघि बढ्ने क्रममा बारुदी सुरुङमा ठोक्किएको जनाएको हो ।

आईआरजीसीको विज्ञप्तिमा भनिएको छ, “नियम उल्लङ्घन गर्ने दुई तेल ट्याङ्करमध्ये एउटा स्ट्रेट अफ होर्मुजको पूर्वी भागमा र अर्को होर्मुज मध्यभित्र नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि आगलागी भएको हो ।”

ती ट्याङ्करहरूले नेभिगेसन र स्थान पहिचान प्रणाली बन्द गर्नेलगायतका नियमसमेत उल्लङ्घन गरेको इरानको दाबी छ । यद्यपि, इरानले ट्याङ्करहरूको नाम र राष्ट्रियता खुलाएको छैन ।

फेब्रुअरीको अन्त्यमा इरानमा युद्ध सुरु भएयता तेहरानले विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक होर्मुजमा जहाज आवागमनमा कडा प्रतिबन्ध लगाउँदै आएको छ । इरानले आफ्नै अनुमतिमा तोकिएका जलमार्ग मात्र प्रयोग गर्न जहाजहरूलाई निर्देशन दिएको छ ।

यसको जवाफमा अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लगाउनुका साथै ट्याङ्करहरूलाई उक्त जलमार्ग पार गर्न सहयोग गर्दै आएको छ । विश्वको कुल तेल खपतको करिब पाँच भागको एक भाग यही जलमार्गबाट ओसारपसार हुने गर्छ ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार, गर्मीयामयता खाडी राष्ट्रहरूलाई होर्मुज हुँदै एक अर्ब ५० करोड ब्यारेल तेल निर्यात गर्न अमेरिकाले सहयोग गरेको थियो । अमेरिकी सेनाले हालै उक्त जलमार्गबाट सबै बारुदी सुरुङ हटाइसकिएको दाबीसमेत गरेको छ ।

यसैबीच, शनिबार राति इरानका विभिन्न स्थानमा विस्फोटजस्ता आवाज सुनिएको आईआरएनएले जनाएको छ । समाचार संस्थाका अनुसार केसम, सिरिक, जास्क र बन्दर अब्बासमा त्यस्ता आवाज सुनिएका थिए । ती आवाजको कारण भने खुलेको छैन ।

जास्क बन्दरगाह सहरमा कुनै वस्तु ठोक्किएको अधिकारीहरूले पुष्टि गरेको पनि आईआरएनएले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानमाथि पुनः ठूलो सैन्य आक्रमण गर्ने सम्भावनाबारे चर्चा गर्नुभएको थियो । पछि उहाँले उक्त योजनाबाट पछि हटेको सङ्केत गर्नुभएको थियो । यद्यपि, अमेरिकी सेनाले इरानमाथि सीमित आक्रमण भने जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan