Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तीन महिनामा गण्डकी प्रदेशको आठ प्रतिशत बजेट खर्च

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २३ सोमबार | रासस

पोखरा, २३ कात्तिकः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना अर्थात् असोज मसान्तसम्ममा गण्डकी प्रदेश सरकारले कुल बजेटको आठ दशमलव १५ प्रतिशत खर्च गरेको छ । 

चालु आर्थिक वर्षका लागि विनियोजित रु ३२ अर्ब ९९ करोड ९९ लाख बजेटमध्ये पहिलो त्रैमासिक अवधिमा रु दुई अर्ब ६९ करोड २६ लाख ५३ हजार ३१६ खर्च भएको प्रदेश कोष नियन्त्रक सुरेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार रु १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार चालु बजेटमध्ये रु एक अर्ब ४३ करोड ८७ लाख ६६ हजार ८७२ अर्थात् ११ दशमलव तीन प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ छ दशमलव २६ प्रतिशत बजेट खर्च भएको उहाँले बताउनुभयो । रु २० अर्ब दुई करोड ६१ लाख २२ हजार पुँजीगत बजेटमध्ये रु एक अर्ब २५ करोड ३८ लाख ६६ हजार ८७२ खर्च भएको छ । 

मन्त्रालयगत रुपमा सबैभन्दा बढी रकम स्वास्थ्य मन्त्रालयले खर्च गरेको छ । यस मन्त्रालयको बजेट रु तीन अर्ब ३१ करोड २४ लाख ८४ हजारमध्ये तीन महिनामा ११ दशमलव पाँच प्रतिशत बजेट खर्च भएको प्रदेश कोष नियन्त्रक सुवेदीले जानकारी दिनुभयो । अन्य मन्त्रालयको खर्च पनि सन्तोषजनक नै रहेको उहाँले बताउनुभयो । यो आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा गत वर्षकै तुलनामा खर्च भएको प्रदेश कोष नियन्त्रक सुवेदीले बताउनुभयो । गत आर्थिक वर्षमा आठ दशमलव तीन प्रतिशत खर्च भएको उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्षको सुरुआतमा कार्यक्रम तथा योजनाहरू सुरु हुने भएकाले खर्च प्रतिशत कम हुने प्रदेश कोष नियन्त्रक सुवेदीको भनाइ छ । योजना तथा कार्यक्रमहरू तेस्रो र चौथो त्रैमासिकमा सकिएर सोही समयमा भुक्तानी हुने भएकाले आर्थिक वर्षको अन्त्यमा बढी रकम निकासा÷खर्च हुने उहाँले बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan