Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तिहार नजिकिँदै गर्दा दाजुभाइ र दिदीबहिनीको सम्झना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २३ सोमबार | (रासस)

लमजुङ, २३ कात्तिक : बेँसीसहर नगरपालिका–८ की पुष्पा श्रेष्ठलाई तिहार नजिकिँदै गर्दा आफ्ना दाजुभाइको सम्झना आउँछ । रोजगारीका सिलसिलामा तीन वर्षदेखि दुबईमा रहनुभएकी उहाँले यस अवधिमा दाजुभाइलाई भाइटीका लगाउन पाउनुभएको छैन ।  

“यस वर्ष घर फर्किएर टीका लगाउने इच्छा भए पनि पूरा हुन सकेन । धेरै वर्ष भयो दाजुभाइलाई भाइटीका लगाउन नपाएको”, उहाँले भन्नुभयो । यो वर्ष त पक्कै घर फर्किएर टीका लगाउन पाउँछु भन्ने लागेको थियो तर यसपटक पनि सम्भव भएन ।

    तिहार नेपाली समाजमा उज्यालो, उमङ्ग र आत्मीयताको पर्व हो । यस पर्वको अन्तिम दिन मनाइने भाइटीका दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र अटुट सम्बन्धको प्रतीक मानिन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र सुख, समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका र मखमली माला लगाइदिने परम्परा छ । 

    तर रोजगारी र पारिवारिक जिम्मेवारीका कारण परदेशिएका धेरै नेपालीका लागि भाइटीका प्रत्यक्ष भेटघाटभन्दा सम्झना र शुभकामना आदानप्रदानमै सीमित हुन थालेको छ । “चाडपर्व आउँदा घरपरिवार र दाजुभाइको धेरै सम्झना आउँछ । प्रत्यक्ष भेटेर टीका लगाउन नपाए पनि टाढैबाट सम्झना गर्दै शुभकामना र आशीर्वाद पठाएकी छु”, उहाँले भन्नुभयो ।

    दोर्दी गाउँपालिकाका अमृत घिमिरेको अनुभव पनि उस्तै छ । उहाँ तीन वर्षदेखि रोजगारीका सिलसिलामा भारतमा हुनुहुन्छ । यस अवधिमा बहिनीसँग भाइटीका लगाउन नपाएको पनि धेरै वर्ष भइसकेको छ ।  “तीन वर्षदेखि बहिनीसँग टीका लगाउन पाएको छैन ।  अरूले भाइटीका लगाएको देख्दा आफ्नो निधार खाली हुँदा निकै नरमाइलो लाग्छ”, उहाँले भन्नुभयो ।

    घरमा परिवारका सदस्यले भाइटीका लगाएको दृश्य मोबाइलमार्फत हेर्ने र कुराकानी गरेर चित्त बुझाउने गरेको उहाँ बताउनुहुन्छ । यस वर्षसमेत प्रत्यक्ष सहभागी हुन नपाउने भएपछि भिडियो कलमार्फत परिवारसँग जोडिएर पर्वको खुसी साट्ने उहाँको सोच छ ।
 
    आठ वर्षदेखि अमेरिकामा बस्दै आउनुभएका बेँसीसहरका पूर्ण श्रेष्ठले पनि यस अवधिमा दिदीको हातबाट भाइटीका लगाउन पाउनुभएको छैन । रोजगारी गर्दै परिवारको भविष्य निर्माण गर्ने उद्देश्यले अमेरिका पुग्नुभएका उहाँ विभिन्न कारणले नेपाल फर्कन नपाउँदा हरेक वर्ष तिहारमा दिदी र घरपरिवारको सम्झनाले सताउने गरेको बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “तिहार आउँदा आफ्नी दिदीको धेरै सम्झना आउँछ । वर्षौँदेखि उहाँको हातबाट टीका लगाउन पाएको छैन । आफ्नो संस्कार र संस्कृति सम्झिँदा घरपरिवारसँगै बसेर तिहार मनाएका पुराना दिनहरू आँखा अगाडि आउँछन् ।”

    मजस्तै धेरै दाजुभाइ तथा दिदीबहिनी रोजगारीका कारण परिवारबाट टाढा रहनुपरेको छ”, उहाँले भन्नुभयो । नेपालमै रहेका बेँसीसहरका धनलाल श्रेष्ठको भाइटीका पनि तीन वर्षदेखि अधुरो छ ।  रोजगारीका सिलसिलामा विदेशिएकी बहिनी दुई वर्षपछि फर्किने आश्वासन दिएर गए पनि तीन वर्ष बितिसक्दा घर फर्कन सकेकी छैनन् ।

    आफ्नै बहिनीको हातबाट मात्र टीका लगाउँदै आउनुभएका उहाँले अरू कसैको हातबाट टीका लगाउन मन नगरेपछि तीन वर्षदेखि भाइटीकामा निधार खाली राख्दै आउनुभएको छ । “दुई वर्षपछि आउँछु भनेर विदेशिएकी बहिनी तीन वर्ष बितिसक्दा पनि फर्किएकी छैनन् ।”

    म सधैँ आफ्नै बहिनीको हातबाट टीका लगाउँदै आएको मान्छे हुँ । उहाँबाहेक अरूको हातबाट टीका लगाउन मन लागेन । त्यसैले अहिलेसम्म लगाएको छैन । 

    यस वर्ष पनि निधार खाली नै रहने भयो । बहिनी फर्किएपछि अर्को वर्ष उहाँकै हातबाट टीका लगाउने प्रतीक्षामा छु”, उहाँले भन्नुभयो । यस्तै अनुभवले वैदेशिक रोजगारी र बसाइँसराइले नेपाली परिवारको चाडपर्व मनाउने शैलीमा ल्याएको परिवर्तन झल्किन्छ ।

    एकातिर परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर विदेशिएका दाजुभाइ तथा दिदीबहिनी छन् भने अर्कातिर घरमा बसेर उनीहरूको प्रतीक्षामा रहेका आफन्त छन् । कतिपयले नजिकका आफन्तको अभावमा धर्म दाजुभाइ वा धर्म दिदीबहिनीसँग सम्बन्ध गाँसेर भाइटीकाको परम्परालाई निरन्तरता दिइरहेका छन् ।

    भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुख, समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका, मखमली माला, ओखर, विमिरो र तेलको घेरालगायतका विधि पूरा गर्ने परम्परा छ । प्रविधिको विकाससँगै टाढा रहेका आफन्तले भिडियो कलमार्फत कुराकानी र शुभकामना आदानप्रदान गर्ने गरेका छन् । 

    तर दिदीबहिनीको हातबाट निधारमा टीका लगाउने र परिवारसँगै बसेर पर्व मनाउने प्रत्यक्ष अनुभूतिको स्थान प्रविधिले लिनसकेको छैन । रोजगारी र पारिवारिक जिम्मेवारीले भौगोलिक रूपमा टाढा बनाए पनि दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मियता कमजोर भएको छैन ।
  
कसैका लागि यस वर्षको भाइटीका भिडियो कलमा सीमित हुनेछ भने कसैको निधार आफ्नै दिदीबहिनीको प्रतीक्षामा खाली रहनेछ । टाढा रहे पनि एकअर्काप्रतिको माया, शुभकामना र आशीर्वादले उनीहरूको सम्बन्धलाई जीवन्त राखिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan