क्रेमलिनको दबाबपछि रुसी स्वतन्त्र अखबार ‘नोभाया गाजेता’ बन्द
क्रेमलिनको दबाबका कारण बन्द हुन लागेको घोषणा गरेको रुसको प्रमुख स्वतन्त्र अखबार ‘नोभाया गाजेता’ले सोमबार अन्तिम सम्पादकीय बैठक आयोजना गर्दै आफ्नो कार्यालय खाली गरेको छ ।
अभिव्यक्ति स्वतन्त्रतामाथि कडा नियन्त्रण र सरकारका आलोचकविरुद्ध अभियान चलिरहेका बेला यो अखबार लामो समयसम्म रुसी सत्ता र युक्रेनमाथि रुसले गरेको आक्रमणको खुलेर आलोचना गर्ने सीमित सञ्चारमाध्यममध्ये एक थियो ।
रुसी अधिकारीले अखबारलाई ‘विदेशी एजेन्ट’को संज्ञा दिएका थिए । यसका पत्रकारहरूलाई पक्राउ गर्नुका साथै सोधपुछसमेत गरिएको थियो ।
रुसी सञ्चारमाध्यम ‘सोटा भिजन’ र ‘ओस्तोरोज्नो नोभोस्ती’का अनुसार अखबारले सोमबार अन्तिम सम्पादकीय बैठक आयोजना गरेको थियो ।
‘ओस्तोरोज्नो नोभोस्ती’ले सार्वजनिक गरेका तस्बिरमा प्रधान सम्पादक सर्गेई सोकोलोभले हत्या गरिएका पत्रकारहरूका तस्बिर कार्यालयको भित्ताबाट हटाउँदै गरेको देखिन्छ । ती पत्रकारको हत्या उनीहरूले गरेको खोजमूलक पत्रकारितासँग सम्बन्धित रहेको मानिँदै आएको छ ।
हटाइएका तस्बिरमध्ये पत्रकार अन्ना पोलितकोभस्कायाको तस्बिर पनि थियो । उहाँले चेचेन्यामा रुसी सेनाबाट भएका दुव्र्यवहारका आरोपबारे वर्षौँसम्म खोजमूलक समाचार लेख्नुभएको थियो । उहाँ राष्ट्रपति भ्लादिमिर पुटिनको शासनकालका प्रारम्भिक र मुखर आलोचकसमेत हुनुहुन्थ्यो । सन् २००६ अक्टोबरमा पुटिनको जन्मदिनकै दिन उहाँलाई आफ्नै अपार्टमेन्टमा मृत फेला पारिएको थियो ।
गत महिना सार्वजनिक एक भावुक भिडियो सन्देशमा प्रधान सम्पादक सोकोलोभले अखबारको ‘हत्या गरिएको’ बताउनुभएको थियो । रुसी अधिकारी र सुरक्षा निकायले सम्पादकीय टोलीलाई काम बन्द गर्न बाध्य पारेकाले अखबार बन्द गर्नुपरेको उहाँको भनाइ थियो ।
– ‘विनाशकारी प्रहार’ –
‘रिपोर्टर्स विदाउट बोर्डर्स’ र ‘एमनेस्टी इन्टरनेसनल’ लगायत मानव अधिकारवादी संस्थाहरूले अखबार बन्द गर्ने निर्णयको निन्दा गरेका छन् ।
अक्टोबरमा जारी विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले अखबार बन्द हुनुलाई रुसमा बाँकी रहेका स्वतन्त्र सञ्चारमाध्यममाथि गरिएको ‘अर्को विनाशकारी प्रहार’ भन्नुभएको थियो ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार यसलाई ‘परिवर्तनको सामान्य चक्र’को संज्ञा दिनुभएको छ ।
पत्रकारहरूसँग कुरा गर्दै उहाँले रुसमा स्वतन्त्र सञ्चारमाध्यमको युग अन्त्य हुँदैछ भन्नु गलत हुने बताउनुभयो । रुसी सञ्चारमाध्यम विविधतापूर्ण रहेको र प्रतिस्पर्धात्मक वातावरणमा विकास भइरहेको उहाँको दाबी थियो ।
युक्रेनमा युद्ध सुरु भएयता रुसले सञ्चारमाध्यममाथि कडा सेन्सरसिप लागू गरेको छ । त्यसका कारण अधिकांश स्वतन्त्र सञ्चारमाध्यम निर्वासनमा जान बाध्य भएका छन् ।
मिडिया फ्रिडम गठबन्धनका सहअध्यक्ष बेलायत र फिनल्यान्डले संयुक्त विज्ञप्ति जारी गर्दै अखबार बन्द हुनुलाई रुसमा स्वतन्त्र पत्रकारितामाथि जारी दबाबको स्पष्ट सङ्केत भनेका छन् । उनीहरूले रुसलाई स्वतन्त्र सञ्चारमाध्यम र पत्रकारमाथिको दमन अन्त्य गर्न आह्वान गरेका छन् ।
सन् १९९३ मा सोभियत सङ्घको विघटनपछि स्थापना भएको ‘नोभाया गाजेता’ मानव अधिकार उल्लङ्घनका घटनाको खोज तथा दस्तावेजीकरण गर्ने रुसको प्रतिष्ठित सञ्चारमाध्यममध्ये एक थियो ।
---


