पार्टी एकताबद्ध हुनु नै फाइदा हुन्छ : नेता खतिवडा
तपाईंहरूले महाधिवेशनको कार्यतालिकाहरू नै रोक्न आग्रह गर्नुभएको छ । महाधिवेशन रोक्नु नै अहिले कांग्रेस एकताको पहिलो सर्त हो भन्ने निष्कर्षमा कसरी पुग्नुभयो ?
सबैभन्दा महत्वपूर्ण कुरा अहिलेको देश, परिस्थिति, कानुनी राज्य, संविधानलाई विचार गर्दा कांग्रेस कमजोर हुँदाखेरि देश धेरै कमजोर हुने भयो । हामी विशेष महाधिवेशनबाट एउटा अवस्थामा पुग्यौं ।
केही साथीहरू अझै समेटिएका छैनन् भन्ने हामीलाई लागेको हो । तथापि, पार्टीलाई एकीकृत नबनाइकन देशका वर्तमान समस्या समाधान गर्ने शक्ति अरू देखा परेनन् । त्यसैले दुई पक्षको छुट्टाछुट्टै महाधिवेशन कार्यतालिका आएको अवस्था छ ।
एउटा अलि पछि गर्ने, एउटा अब लगत्तै महाधिवेशन गर्ने 'क्यालेन्डर' कांग्रेसभित्र आयो । यो अवस्थामा दुवै समूहले वार्ता गरेर एकताबद्ध भएर जाँदा अहिलेको विषम् परिस्थितिमा कांग्रेस एकताबद्ध भएर जान्छ र यसले एउटा नया उत्साह कार्यकर्ता पैदा हुन्छ।
केही समय सारेर भए पनि एकता हुन्छ भने दुवै पक्षले महाधिवेशन स्थगित गर्नुपर्छ । फेरि यो एक पक्षको मात्र कुरा हैन । पार्टीको बृहत् एकताका लागि यो आवश्यक छ जस्तो महसुस गरेर हामीहरूले दुवै पक्षलाई आग्रह गरेका हौं ।
तपाईंहरूको अपिलमा 'निर्णायक वार्ता' भनिएको छ । यसअघि कांग्रेसमा पटक- पटक वार्ता भएका थिए। तर, सहमति भएन । यस पटकको वार्ता निर्णायक बन्ने आधार के देख्नुहुन्छ ?
हामीले वर्तमान सभापति गगन थापासँग पनि कुरा गर्यौं । पूर्वसभापति शेरबहादुर देउवासँग पनि भेटेका छौं । त्यसपछि अन्य नेताहरू डा. शेखर कोइराला, पूर्णबहादुर खड्कासँग पनि हाम्रो भेट भएको छ । सबैलाई एकताबद्ध बनाएर लैजाँदा 'पोजेटिभ' हुन्छ ।
निर्णायक - अनिर्णायक के हुन्छ थाहा छैन, अब यो चाहिँ अलिकता नेतृत्वले नै बुझ्नुपर्यो । कांग्रेस वर्तमान परिस्थितिमा कमजोर हुँदाका परिणामहरू देशले कस्तो अवस्था भोगिराखे छ भन्ने कुरा सबैले बुझेकै छ । त्यसैले वर्तमान नेतृत्वले बुझ्नुपयो भन्ने हाम्रो आग्रह हो ।
हिजो पार्टी सभापतिले म पदाधिकारीहरूसँग छलफल गर्छु, अन्य नेताहरूसँग पनि छलफल गर्छु। कमजोर पार्टी मलाई पनि मान्य हुँदैन र अरुलाई पनि मान्य हुँदैन । त्यसैले म पार्टीलाई एकताबद्ध बनाएर लैजान तयार छु भनेर भन्नुभएको छ ।
हामीलाई विश्वास छ । 'इगो'ले मुलुक बन्दैन । दम्भले अथवा घमण्डले, इर्ष्या-दोषारोपणले पनि हुँदैन । पार्टी एकताबद्ध हुनु नै फाइदा हुन्छ भनेर हामीले यो पहल गरेका हौं ।
यो अपिलमा हस्ताक्षर गर्ने अधिकांश नेताहरू १४ औं महाधिवशेनमा देउवा समूहबाट निर्वाचित हुनुभएको थियो । तपाईंहरूको पहललाई देउवा पक्षप्रति नरम भएर गरिएको दबाबका रूपमा बुझ्ने कि वास्तवमै गगन देउवा दुवै पक्षलाई बराबर जिम्मेवार ठहऱ्याउनु भएको हो ?
हामी कसैप्रति नरम र कसैप्रति गरम होइनौं । हामी शेरबहादुर देउवाको पनि 'ग्रेसफुल एक्जिट' होस् भन्ने चाहन्छौं । अबको राजनीतिमा नयाँ पुस्तालाई अगाडि लिएर हिँड्दा नै फाइदा हुन्छ भन्ने हामीले महसुस गरेका छौं । सरसर्ती हेर्दा पनि कांग्रेसमा अबको विकल्प नयाँ पुस्ता नै हो ।
वर्तमान अवस्था हेर्दा नयाँ पुस्ताले नेतृत्व प्रदान गरेर अघि बढ्नुपर्छ । त्यसैले पुरानो पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तालाई आकर्षित गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । यो कसैको पक्ष वा विपक्षमा गरिएको पहल होइन ।
तथापि, १४ औं महाधिवेशनका बेला म आफै पनि शेरबहादुर देउवाको टिमबाट केन्द्रीय समितिमा निर्वाचित भएको हुँ । तर, राजनीतिक परिस्थिति सधै एकैनासको रहँदैन । रुख र चारतारे झण्डालाई हामी आधार मान्छौं र पार्टीको आधिकारिकतालाई नै आधार मानेर अघि बढ्छौं ।
तपाईंहरूले सभापति गगन थापाको भूमिका विशेष महत्वपूर्ण हुने भन्नुभएको छ । तर, विवादको अर्को केन्द्र पूर्वसभापति शेरबहादुर देउवा पनि हुनुहुन्छ नि ।
देउवालाई पनि हामीले आग्रह गरेका छौं । म आफैले पनि भेटेर राष्ट्रिय राजनीतिको कुरा गरौं भन्दा उहाँ अदालतले न्याय दिन्छ भन्नुहुन्छ ।
राजनीतिक मुद्दा, पार्टीको मुद्दालाई अदालतले निर्णय गर्ने प्रक्रिया कति ठीक हो, कति ठीक होइन, त्यो एउटा पक्ष हो । तर, सधैँ अदालतमा झुन्डिएर बसेर मात्रै पनि वर्तमान समस्या समाधान नहोला । देश विकराल अवस्थामा छ ।
तपाईंहरूले देख्नु भएकै छ - २९ खर्बभन्दा बढी हामी 'लोन' (ऋण) मा छौं, आन्तरिक र बाह्य गरेर । रोजगारका अवसरहरू छैनन् । उद्योग-धन्दाहरू बन्द भएका छन् । युवालाई हामीले नेपालमै रोजगारको अवसर दिलाउन सकेका छैनौं । राष्ट्रवाणी साप्ताहिकका साथमा ।
