Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २४ बुधबार | (रासस)

भक्तपुर, २४ भदौः राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालामा सहभागी सरोकारवालाले विद्यालय शिक्षालाई रोजगारमुखी, प्रयोगात्मक र विद्यार्थीको रुचि तथा स्थानीय आवश्यकतामा आधारित बनाउनुपर्ने सुझाव दिएका छन् ।

पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले आयोजना गरेको प्रदेशस्तरीय कार्यशालामा शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, शिक्षा अधिकृत, अभिभावक, निजी विद्यालयका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता थियो । सहभागीहरूले पाठ्यक्रम, विषय छनोट, मूल्याङ्कन प्रणाली, शिक्षक तयारी तथा पाठ्यक्रम कार्यान्वयनमा सुधार आवश्यक रहेको बताएका छन् ।

अधिकांश प्रदेशमा विद्यालय शिक्षालाई श्रम, उत्पादन, रोजगारी तथा स्वरोजगारसँग जोड्नुपर्ने विषय प्रमुख रूपमा उठेको थियो । श्रमबजारको मागअनुसार विषय तथा सीप समावेश गर्नुपर्ने, उद्यमशीलता, कृषि र प्रविधिसम्बन्धी विषयलाई प्राथमिकता दिनुपर्ने सुझाव सहभागीहरूले दिएका छन् ।

कोशी प्रदेशका सहभागीले पाठ्यघण्टा घटाएर प्रयोगात्मक सिकाइमा जोड दिनुपर्ने तथा मूल्याङ्कन प्रणालीलाई निरन्तर र प्रयोगात्मक बनाउनुपर्ने बताएका छन् । आधारभूत विषयलाई कक्षा ८ सम्म सीमित गरी कक्षा ९ देखि विद्यार्थीको रुचि, क्षमता र भविष्यको योजनाअनुसार विषय छनोट गर्ने अवसर दिनुपर्ने सुझावसमेत आएको छ ।

मधेस प्रदेशमा रोजगारी सिर्जना गर्ने शिक्षा, उद्यमशीलता, प्रविधि र कृषिलाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिइएको छ । साथै, करियरमुखी तथा ऐच्छिक विषय छनोटको अवसर विस्तार गर्नुपर्ने सुझाव सहभागीहरूले दिएका छन् ।

बागमती प्रदेशको हेटौँडास्थित स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यशालामा ३२ जनाको सहभागिता थियो । सहभागीहरूले शिक्षक तयारी तथा पेशागत विकासका अवसर पर्याप्त नभएको भन्दै शिक्षकको क्षमता विकासमा विशेष ध्यान दिनुपर्ने बताए । प्राविधिक धारका कार्यक्रम तथा विषयलाई व्यवस्थित गर्नुपर्ने र कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रमअनुसार शिक्षण तथा मूल्याङ्कन प्रभावकारी बनाउनुपर्ने सुझावसमेत दिइएको छ ।

गण्डकी प्रदेशको पोखरास्थित सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यशालामा ५५ जनाको सहभागिता थियो । सहभागीहरूले विद्यालय शिक्षालाई ५–४–३ संरचनामा लैजानुपर्ने र नैतिक शिक्षालाई छुट्टै विषयका रूपमा राख्नुपर्ने सुझाव दिएका छन् ।

लुम्बिनी प्रदेशको नेपालगञ्जस्थित स्प्रीङटेल एकेडेमीमा आयोजित कार्यशालामा ४२ जना सहभागी थिए । सहभागीहरूले पाठ्यक्रम निर्माणमा विद्यार्थीको आवाजलाई समेट्नुपर्ने तथा विद्यमान राष्ट्रिय पाठ्यक्रम प्रारूपका कमजोरी र ‘ग्याप’ शिक्षक वर्गबाट विश्लेषण गरी आवश्यक सुधार गर्नुपर्ने बताएका छन् । विद्यालय शिक्षालाई श्रम र उत्पादनसँग जोड्ने गरी पाठ्यक्रम निर्माण गर्नुपर्ने सुझाव पनि लुम्बिनीबाट आएको छ ।

सुदूरपश्चिम प्रदेशको धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालयमा आयोजित कार्यशालामा शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, शिक्षा अधिकृत, अभिभावक र पत्रकारलगायत ३४ जनाको सहभागिता थियो । सहभागीहरूले नैतिक शिक्षा, कम्प्युटर शिक्षा तथा प्रारम्भिक बालविकास तथा शिक्षालाई पाठ्यक्रम संरचनामै समावेश गर्नुपर्ने सुझाव दिएका छन् । मूल्याङ्कन प्रणालीमा समेत सुधार आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

कर्णाली प्रदेशमा दैलेखको भैरवी गाउँपालिका र श्री हिमालय माध्यमिक विद्यालयमा कार्यशाला सञ्चालन गरिएको थियो । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव तथा पृष्ठपोषण सङ्कलन सुरु गरेको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार पाठ्यक्रमलाई समयसापेक्ष, व्यवहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलले सातै प्रदेशका २८ जिल्लाबाट फिल्डस्तरमा सरोकारवालाको सुझाव तथा पृष्ठपोषण सङ्कलन सुरु गरिएको छ ।

कार्यदलका सात वटा टोलीले आजदेखि भदौ ३० गतेसम्म विभिन्न जिल्लामा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ, नीतिनिर्माता, स्थानीय तह तथा अन्य सरोकारवालासँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् । 

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार पहिलो चरणमा २८ जिल्लाबाट सुझाव सङ्कलन गरिनेछ । त्यसपछि ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइबाट सुझाव लिइनेछ भने केन्द्रको वेबसाइटमार्फत समेत सुझाव प्राप्त गरिनेछ । तिहारअघि सुझाव तथा पृष्ठपोषण सङ्कलनको काम पूरा गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । 

“पाठ्यक्रम परिमार्जन गर्दा विद्यालय शिक्षा क्षेत्रसँग प्रत्यक्ष जोडिएका शिक्षक, विद्यालय, स्थानीय तह र अन्य सरोकारवालाको अनुभव तथा सुझावलाई समेट्न फिल्डस्तरमा पृष्ठपोषण सङ्कलन गरिएको हो,” पराजुलीले भन्नुभयो । 

राष्ट्रिय पाठ्यक्रम तथा मूल्याङ्कन परिषद्को ९८औँ बैठकको निर्णयअनुसार गत वैशाखमा प्राडा बालचन्द्र लुइँटेलको संयोजकत्वमा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदल गठन गरिएको थियो ।

पाठ्यक्रम विकास केन्द्रको कार्ययोजनाअनुसार कोशी प्रदेशमा मोरङ, धनकुटा र सङ्खुवासभा; बागमतीमा दोलखा, मकवानपुर र काठमाडौँ, गण्डकीमा गोरखा, कास्की र तनहुँ, लुम्बिनीमा प्युठान, रूपन्देही र दाङ; कर्णालीमा मुगु, सुर्खेत र दैलेख तथा सुदूरपश्चिममा कैलाली, डडेलधुरा, डोटी र बैतडीमा फिल्ड कार्यक्रम सञ्चालन हुनेछ । मधेस प्रदेशका आठ जिल्लासमेत कार्यक्रमअन्तर्गत समेटिएका छन् । 

सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रालय, स्थानीय तह, सामुदायिक तथा संस्थागत विद्यालय र शिक्षा विकास तथा समन्वय एकाइलगायतका प्रतिनिधिसँग छलफल गरी प्राप्त सुझावलाई पाठ्यक्रम प्रारूप परिमार्जन प्रक्रियामा समेटिने केन्द्रले जनाएको छ ।

पाठ्यक्रम परिमार्जनका क्रममा विद्यालय शिक्षा क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित शिक्षक, विद्यालय, स्थानीय तह तथा अन्य सरोकारवालाको अनुभव र सुझावलाई समेट्ने उद्देश्यले फिल्डस्तरमा पृष्ठपोषण सङ्कलन गर्न लागिएको हो । राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ लाई समयसापेक्ष बनाउने क्रममा सुरु गरिएको यस सुझाव सङ्कलन अभियानलाई पाठ्यक्रम परिमार्जनको आधारका रूपमा प्रयोग गरिने बताइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan