इरान नाकाबन्दीमा १०३ व्यापारिक जहाजको मार्ग परिवर्तन
फ्लोरिडा, ३१ भदौ : इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन गराउन अमेरिकी सेनाले सेप्टेम्बर १५ सम्म १०३ वटा व्यापारिक जहाजको मार्ग परिवर्तन गराएको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले जनाएको छ ।
सेन्टकमका अनुसार नाकाबन्दीको पालना सुनिश्चित गर्न ती जहाजलाई हर्मुज जलघाँटीबाट अन्य मार्गतर्फ पठाइएको हो ।
सेन्टकमले अरब सागरमा अमेरिकी नौसेनाको ‘युएसएस राफेल पेराल्टा’ बाट उडान गरिरहेको एमएच–६० सी हक हेलिकप्टरको भिडियोसमेत सार्वजनिक गरेको छ ।
इरानसँगको युद्धले अमेरिकी रक्षा खर्चमा समेत ठूलो दबाब पारेको छ । अमेरिकी कङ्ग्रेसअन्तर्गतको स्वतन्त्र निकाय कङ्ग्रेसनल बजेट अफिस (सीबीओ) का अनुसार सन् २०२६ अगस्ट १ सम्म इरानविरुद्धको सैन्य कारबाहीमा अमेरिकी रक्षा विभागले करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको छ ।
युद्धको तीव्रता जुलाईकै स्तरमा कायम रहे मासिक खर्च करिब तीन अर्ब डलर पुग्न सक्ने सीबीओले जनाएको छ ।
यसैबीच, अमेरिका, इजरायल र सात अरब राष्ट्रका उच्चपदस्थ सैन्य अधिकारीहरूले गत साता जर्मनीमा इरान युद्ध र मध्यपूर्वको सुरक्षा अवस्थाबारे गोप्य बैठक गरेका थिए ।
अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरको आयोजनामा भएको बैठकमा उहाँले मध्यपूर्वबाट अमेरिकी सेना फिर्ता गर्ने योजना नरहेको र हर्मुज जलघाँटी हुँदै समुद्री यातायात बढाउने अमेरिकी रणनीतिबारे जानकारी गराउनुभएको एक्सियोसले जनाएको छ ।
इजरायली रक्षा बलका प्रमुख जनरल इयाल जमिरले पनि विभिन्न मोर्चामा जारी सैन्य कारबाहीबारे जानकारी दिनुभएको थियो ।
यता, इरानका विदेशमन्त्री सैय्यद अब्बास अराघचीले बुधबार चीन भ्रमण गरी चिनियाँ विदेशमन्त्री वाङ यीसँग वार्ता गर्नुहुने भएको छ । चिनियाँ विदेश मन्त्रालयले उहाँको भ्रमण पुष्टि गरेको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले सेप्टेम्बर २४ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने तयारी भइरहेको पनि बताइएको छ ।
