Thursday 26th of November | २०८३ मङ्सिर १० बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

किङ्स कप राष्ट्रिय भलिबलमा आयोजक र गण्डकीको लगातार दोस्रो जित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १० बिहीबार | (रासस)

कास्की, १० मङ्सिरः पोखरामा जारी ‘फेवा किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा र गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेका छन् भने नेपाल पुलिस क्लबले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

    पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज सम्पन्न तीन खेलमा आयोजक किङ्स क्लबले त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबले कोशी प्रदेश र गण्डकी प्रदेशले एपीएफ क्लबलाई पराजित गरेका हुन् ।

    दिनको पहिलो खेलमा आयोजक किङ्स क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । आयोजक टोलीले आर्मीलाई ३५–३३, २५–२१ र २८–२६ को सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । यस जितसँगै आयोजक टोली लिग तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

    दोस्रो खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकाल्यो । पुलिसले कोशीलाई २५–२०, २५–१८ र २५–१८ को सेटमा हराएको हो । यसअघि पहिलो खेलमा एपीएफसँग पुलिस ३–२ को सेटमा पराजित भएको थियो ।

    अन्तिम खेलमा गण्डकी प्रदेशले विभागीय टोली एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्‍यो । गण्डकीले पहिलो र दोस्रो सेट क्रमशः २५–१५ र २५–२१ ले जितेको थियो । तेस्रो सेट २३–२५ ले गुमाएको गण्डकीले चौथो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै लगातार दोस्रो जित निकालेको हो ।

    प्रतियोगिता मङ्सिर १५ गतेसम्म सञ्चालन हुनेछ । लिगकम नकआउट प्रणालीमा भइरहेको प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, नेपाल पुलिस क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र गण्डकी प्रदेश गरी छ टोली सहभागी छन् ।

    प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख ५० हजार, तेस्रो हुने टोलीले रु एक लाख र सान्त्वना स्थान हासिल गर्ने टोलीले रु ५० हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिनुभयो ।

    प्रतियोगितामा भोलि एपीएफ र कोशी प्रदेश, नेपाल पुलिस र त्रिभुवन आर्मी तथा गण्डकी प्रदेश र आयोजक किङ्स क्लब पोखराबीच प्रतिस्पर्धा हुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan