Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार |

कास्की, ९ मङ्सिरः पोखरामा आजदेखि ‘किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

    युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सञ्चालन भएको प्रतियोगिताको गण्डकीका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले उद्घाटन गर्नुभयो ।

     प्रतियोगिताको पहिलो दिनको खेलमा गण्डकी प्रदेश, नेपाल एपिएफ क्लब र आयोजक किङ्स क्लब पोखराले विजयी सुरुआत गरेका छन् । पहिलो खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तीन अङ्क जोडेको छ । गण्डकीले पहिलो र दोस्रो सेट समान २५–१७ ले जिते पनि तेस्रो सेट १९–२५ ले गुमाएको थियो । चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै गण्डकीले जित सुनिश्चित गरेको हो ।

    दोस्रो खेलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो सेट २९–२७ ले जित्दा दोस्रो सेट १८–२५ ले पुलिसलाई सुम्पिएको थियो । 

    तेस्रो सेट २५–१८ ले जितेको एपिएफले चौथो सेट २२–२५ ले गुमाएपछि खेल पाँचौँ सेटमा पुगेको थियो । निर्णायक सेट १५–१३ ले जित्दै एपिएफले दुई अङ्क जोड्यो । पराजित पुलिसले एक अङ्क प्राप्त गरेको छ ।

    यसैगरी खेलमा आयोजक किङ्स क्लब पोखराले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । आयोजकले कोशीलाई २६–२४, २५–१८ र २५–२० को सेटमा हराउँदै तीन अङ्क जोडेको हो ।

    ‘राउन्ड रोबिन’ प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल सङ्घ र गण्डकी प्रदेश भलिबल सङ्घ गरी छ टोलीको सहभागिता रहेको छ ।

    प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख ५० हजार, तेस्रो हुने टोलीले रु एक लाख र सान्त्वना स्थान हासिल गर्ने टोलीले रु ५० हजार पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिनुभयो ।

    प्रतियोगिता उद्घाटन गर्दै मन्त्री गुरुङले खेलकुद क्षेत्रको विकासका लागि सरकारसँगै निजी क्षेत्र, क्लब, सङ्घसंस्था र खेलप्रेमी समुदायको सक्रियता पनि उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले किङ्स क्लबले पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न गरेको पहल प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

    “गण्डकी प्रदेशमा भलिबलप्रतिको आकर्षण र खेलाडीको प्रतिभा प्रशंसनीय छ । खेलाडीको प्रतिभाको सम्मान गर्दै खेलकुदलाई पेसा र भविष्य निर्माणको माध्यम बनाउनु आवश्यक छ”, मन्त्री गुरुङले भन्नुभयो ।  प्रतियोगिता संयोजक थमन गुरुङले राष्ट्रियस्तरमा पुरुष भलिबलको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan