पोखरामा परम्परागत कृषि संस्कृति र पर्यटन प्रवर्द्धन गर्न दाइँ महोत्सव
कास्की, १० मङ्सिरः पोखराको परम्परागत कृषि प्रणाली, ग्रामीण जीवनशैली र स्थानीय उत्पादनको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही मङ्सिर १२ गते तेस्रो दाइँ महोत्सव आयोजना हुने भएको छ ।
‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा पोखरा महानगरपालिका–२९, लेखनाथको नौबीसे टोलमा महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पोखरामा बढ्दो सहरीकरण र बदलिँदो जीवनशैलीसँगै लोप हुँदै गएको परम्परागत कृषि प्रणालीलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो ।
उहाँका अनुसार महोत्सवले परम्परागत खेती प्रणालीको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन, खेतीयोग्य जमिनको संरक्षण तथा किसानलाई आफ्नो पेसाप्रति प्रोत्साहित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
“महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउनुका साथै पोखरा आसपासका खेतीयोग्य जमिनको संरक्षण, किसानलाई आफ्नो पेसाप्रति उत्प्रेरित गर्न र कृषि पर्यटनको अवधारणालाई मूर्तरूप दिन सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।
महोत्सवमा धेरै धान उत्पादन गर्ने उत्कृष्ट किसानलाई सम्मान गर्नुका साथै धान चुट्ने, दँदेरा गर्ने, गुन्द्री बुन्ने र लट्टो तान्ने प्रतियोगिता सञ्चालन गरिने कार्यक्रम संयोजक एवं पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिराम अधिकारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने र सहभागी अतिथिलाई स्थानीय उत्पादन उपहारस्वरूप प्रदान गरिने उहाँले बताउनुभयो ।
परम्परागत कृषि संस्कृति, ग्रामीण जीवनशैली र स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर पोखराको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य महोत्सवले लिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा सहभागिताका लागि ५० जना विदेशी पर्यटकले नाम दर्ता गराइसकेका छन् ।
“हामीले २३औँ संस्करणसम्म रोपाइँ महोत्सव गरिसकेका छौँ । रोपाइँ महोत्सवमा सहभागी भएका पर्यटकले धान कसरी भित्र्याइन्छ भन्ने चासो राख्न थालेपछि तीन वर्षअघि दाइँ महोत्सव सुरु गरेका हौँ । अहिले मेसिनबाट धान रोप्ने, काट्ने तथा थन्क्याउने चलन बढ्दै गएको छ । यस्तो अवस्थामा हलगोरु खोजेर परम्परागत विधिबाट दाइँ गर्दै पुरानो कृषि प्रणालीलाई जीवन्त राख्ने प्रयास गरेका छौँ”, अध्यक्ष भुजेलले भन्नुभयो ।
पोखरालाई सबै मौसममा घुम्न सकिने पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानअन्तर्गत आयोजना हुन लागेको महोत्सवले कृषि र पर्यटनबीचको सम्बन्ध विस्तार गर्दै ग्रामीण पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले बताउनुभयो ।
