Thursday 26th of November | २०८३ मङ्सिर १० बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लमजुङका ग्रामीण क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १० बिहीबार |
newsabhiyan

लमजुङ, १० मङ्सिरः लमजुङका ग्रामीण पर्यटकीय क्षेत्रमा तिहारपछि पर्यटकको चहलपहल बढ्न थालेको छ । चाडपर्वअघि सुनसानजस्तै रहेका गन्तव्यमा अहिले आन्तरिक पर्यटकको आगमन बढेपछि स्थानीय व्यवसायी उत्साहित भएका छन् । 

जिल्लाको घलेगाउँ, काउलेपानी, राइनासकोट र हरसिङडाँडालगायत क्षेत्रमा पर्यटकको आगमन बढेको छ । घरबास(होमस्टे) र स्थानीय व्यवसाय क्रमशः चलायमान हुन थालेका छन् ।  

क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँमा पछिल्लो समय दैनिक १०० देखि १५० जनासम्म पर्यटक आउने गरेको घलेगाउँ होमस्टेका कार्यालय सचिव तथा घरबास सञ्चालक दीर्घराज घलेले बताउनुभयो । 

तिहारअघि पर्यटकको आगमन न्यून रहे पनि अहिले बढ्न थालेपछि होमस्टे व्यवसायी उत्साहित भएको उहाँको भनाइ छ । 

समुद्री सतहबाट करिब दुई हजार १०० मिटर उचाइमा रहेको घलेगाउँबाट अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, गणेश, लमजुङलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । 

गुरुङ समुदायको मौलिक संस्कृति, परम्परागत घरबस्ती र स्थानीय जीवनशैली यहाँका प्रमुख आकर्षण हुन् । 

घलेगाउँमा घाँटु, चुट्का, सोरठी, कृष्णचरित्रलगायत परम्परागत सांस्कृतिक नृत्य तथा प्रस्तुति पर्यटकका लागि आकर्षण बन्ने गरेका छन् । चिया बगान, तमु सङ्ग्रहालय, दृश्यावलोकन स्तम्भ, उत्तरकन्या मन्दिर र कोइबो यहाँका घुम्नलायक स्थल हुन् । 

विसं २०५७ वैशाख २३ गते १२ घरबाट सुरु भएको घलेगाउँको घरबास कार्यक्रमले ग्रामीण पर्यटनको पहिचान बनाएको छ । बेँसीसहर नगरपालिका–३ स्थित काउलेपानीमा पर्यटकको आगमन बढेको छ ।

होमस्टे सञ्चालक कवीन्द्र गुरुङका अनुसार अहिले दैनिक ६० देखि ७० जनासम्म पर्यटक आउने गरेका छन् । गाउँको अवलोकनसँगै काउलेपानी देवीको दर्शन र स्थानीय संस्कृति तथा रहनसहनबारे जानकारी लिन स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको उहाँले बताउनुभयो । 

काउलेपानीमा पर्यटकको आगमन बढेसँगै होमस्टे व्यवसायबाट स्थानीयले राम्रो आम्दानी गर्न थालेका छन् ।  यसले गाउँको आर्थिक गतिविधि बढाउन सहयोग पुगेको छ । 

राइनास नगरपालिका–९ स्थित राइनासकोटमा पनि दैनिक ३० देखि ४० जनासम्म पर्यटक पुग्ने गरेको होमस्टे समितिका अध्यक्ष बालसिंह गुरुङले जानकारी दिनुभयो । यहाँ १४ घरमा घरबास सञ्चालनमा छन् । 

राइनासकोट ऐतिहासिक कोट, कालिका मन्दिर, कोटेश्वर महादेव, परम्परागत घुमाउने घर तथा हिमाली दृश्यावलोकनका लागि परिचित छ । यहाँबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्यसँगै ग्रामीण जनजीवन र स्थानीय संस्कृति अनुभव गर्न सकिन्छ ।

पर्यटकको आगमन बढ्दा होमस्टे सञ्चालक तथा स्थानीय व्यवसायीलाई राहत मिलेको अध्यक्ष गुरुङले बताउनुभयो । 

मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडामा पनि तिहारपछि पर्यटकको चहलपहल बढेको छ । स्थानीय व्यवसायी पूर्णबहादुर गुरुङका अनुसार अहिले दैनिक जनासम्म पर्यटक आउने गरेका छन् । 

दसैँपछि केही पर्यटक आउनथाले पनि तिहारपछि आगमन थप बढेको उहाँले बताउनुभयो । सडकको पहुँच सहज हुँदै गएपछि हरसिङडाँडा पुग्ने पर्यटकको सङ्ख्या बढ्न थालेको उहाँको भनाइ छ । 

यहाँ आउने केही पर्यटक दृश्यावलोकन गरेर फर्कने गरेका छन् भने केही रात बिताउन आउने गरेका छन् । राष्ट्रिय विभूति भक्ति थापाको बाल्यकालसँग जोडिएको यस क्षेत्रको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वले पर्यटकलाई आकर्षित गरेको छ ।

ग्रामीण पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढेपछि स्थानीयस्तरमा सञ्चालित होमस्टे, होटल तथा अन्य साना व्यवसायमा सकारात्मक प्रभाव परेको छ । 
    
सडक तथा अन्य पूर्वाधारको थप विकास र प्रचारप्रसार गर्न सके ग्रामीण पर्यटनबाट स्थानीयको थप आर्थिक उन्नयन हुने देखिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan