Friday 20th of November | २०८३ मङ्सिर ४ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ४ शुक्रबार | (रासस-एपी)

कक्स बजार (बङ्गलादेश), ४ मङ्सिर : रोहिङ्ग्या समुदायविरुद्ध नरसंहार गरेको ठहर गर्दै अन्तर्राष्ट्रिय न्यायालयले दिएको ऐतिहासिक फैसलाको बङ्गलादेशस्थित शरणार्थीले स्वागत गरेका छन् । तर म्यान्मामा सुरक्षित रूपमा घर फर्कन पाएपछि मात्रै आफूहरूले वास्तविक न्यायको अनुभूति गर्ने उनीहरूको भनाइ छ ।

कक्स बजारका शिविरमा भेला भएका सयौँ रोहिङ्ग्याले हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयको फैसला प्रत्यक्ष हेरेका थिए । अदालतले सन् २०१७ मा रोहिङ्ग्यामाथि भएको सैन्य दमनलाई नरसंहार ठहर गर्दै म्यान्मालाई शरणार्थीको सुरक्षित स्वदेश फिर्ती सुनिश्चित गर्न, क्षतिपूर्ति दिन र दोषीमाथि कारबाही गर्न आदेश दिएको छ ।

रोहिङ्ग्या समुदायका नेता मोहम्मद रोफिकले फैसलालाई विजयको संज्ञा दिँदै यसले आफूहरूको पीडालाई अन्तर्राष्ट्रिय मान्यता दिएको बताउनुभयो ।

अर्का नेता सैयद उल्लाले यस निर्णयले रोहिङ्ग्याको छुट्टै जातीय पहिचान, भाषा र संस्कृतिलाई स्वीकार गरेको उल्लेख गर्नुभयो । शरणार्थी मोहम्मद उस्मानले भने म्यान्मालाई कडा सजाय दिन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नुभयो ।

सन् २०१७ अगस्टमा रोहिङ्ग्या विद्रोहीको आक्रमणपछि म्यान्माको सेनाले राखाइन राज्यमा सैन्य अभियान चलाएको थियो । त्यस क्रममा सामूहिक हत्या, बलात्कार र हजारौँ घर जलाएको आरोप लागेको थियो । अदालतले उपलब्ध प्रमाणले करिब १० हजार रोहिङ्ग्याको हत्या भएको देखाएको जनाएको छ ।

फैसला कानूनी रूपमा बाध्यकारी भए पनि कार्यान्वयन गराउने प्रत्यक्ष संयन्त्र सीमित छ । हाल बङ्गलादेशमा करिब १२ लाख रोहिङ्ग्या शरणार्थी छन् । उनीहरू भीडभाडयुक्त शिविरमा कठिन जीवन बिताइरहेका छन् ।

बङ्गलादेशले उनीहरूलाई सुरक्षित रूपमा म्यान्मा फर्काउन अन्तर्राष्ट्रिय सहयोग माग्दै आएको छ । तर ऐतिहासिक फैसलापछि पनि स्वदेश फिर्ती कहिले सम्भव हुन्छ भन्ने अझै अनिश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan