हेग्सेथको बचाउमा ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीलाई लिएर महाभियोगको दबाब सामना गरिरहेका युद्धमन्त्री पीट हेग्सेथको बचाउ गर्नुभएको छ । उहाँले हेग्सेथले दुई युद्ध जितेको दाबी गर्दै महाभियोगको पहल गर्ने रिपब्लिकन सांसद थोमस म्यासीलाई ‘हारेको व्यक्ति’ भन्दै आलोचना गर्नुभयो ।
सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान युद्धमा १८ अमेरिकी सैनिकको मृत्यु भएको उल्लेख गर्दै भियतनाम युद्धमा ६५ हजार अमेरिकीले ज्यान गुमाएको स्मरण गर्नुभयो । उहाँले इराक र अफगानिस्तान युद्ध सञ्चालन गर्ने नेतृत्वमाथि महाभियोग नलगाइएको भन्दै हेग्सेथलाई मात्रै निशाना बनाउनु अनुचित भएको तर्क गर्नुभयो ।
केन्टकीका सांसद म्यासीले हेग्सेथमाथि कार्यकारी अधिकारको दुरुपयोग र इरानसँग युद्ध सुरु गर्न गैरकानूनी आदेश कार्यान्वयन गरेको आरोप लगाउँदै महाभियोग प्रस्ताव पेस गर्नुभएको थियो । सदनको नियमअनुसार प्रस्तावमाथि बुधबारसम्म प्रक्रियागत मतदान हुनुपर्नेछ ।
यसैबीच, हेग्सेथले मङ्गलबार पेन्टागनमा पत्रकार सम्मेलन गरी महाभियोग प्रस्तावबारे धारणा सार्वजनिक गर्ने बताउनुभएको छ । ट्रम्पले इरानको आणविक पूर्वाधार ध्वस्त पारेर आणविक क्षमता हासिल गर्नबाट रोकिएको र अमेरिकी कारबाहीले इजरायल तथा मध्यपूर्वको सुरक्षा गरेको दाबी गर्नुभएको छ । सदनका डेमोक्रेटिक नेता हकीम जेफ्रीजले पनि हेग्सेथविरुद्धको महाभियोग पहललाई समर्थन गर्नुभएको छ ।


