नारायण पोखरेल प्रतिष्ठानमा डा. खनाल चयन
काठमाडौँ, ५ असोज : नारायण पोखरेल प्रतिष्ठानको अध्यक्षमा डा विष्णु खनाल निर्वाचित हुनुभएको छ ।
प्रतिष्ठानको आइतबार सम्पन्न नवौँ अधिवेशनले डा खनालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । प्रतिष्ठानको उपाध्यक्षमा ऋषभदेव भट्टराई, भवानी देवकोटा, राजन पुरी, भुवन गिरी, गोपाल न्यौपाने, वासु कार्की र रमेश पाठक र महासचिवमा विनोदबाबु ढकाल निर्वाचित हुनुभएको छ ।
सचिवमा डा रामहरि ढकाल, बद्रि पोखरेल र भगवती खड्का तथा कोषाध्यक्षमा भीमसेन पोखरेल निर्वाचित हुनुभएको छ । बाँकी सदस्यपछि चयन गरिने भएको छ । प्रतिष्ठानको विधानअनुसार संस्थाको प्रमुख संरक्षकमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल र प्रमुख सल्लाहकारमा निवर्तमान वरिष्ठ उपाध्यक्ष जयराम लामिछानेलाई चयन गरिएको छ ।
अधिवेशनको उद्घाटन गर्दै बागमती प्रदेशका उद्योग, पर्यटन श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले नारायण पोखरेल प्रतिष्ठानले काठमाडौँको नागार्जुनमा बद्रीनारायण धामको निर्माण गरेर नेपालको धार्मिक पर्यटनमा महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।
उहाँले नेपालको एकमात्र सनातनी मान्यता बोकेको बद्रिनारायण मन्दिर सम्पूर्ण नेपालीको आस्थाको धरोहर रहेको र यसको संरक्षणमा प्रतिष्ठानले खेल्दै आएको भूमिका सराहनीय रहेको उल्लेख गर्नुभयो ।
प्रदेशसभा सदस्य उद्धव थापाले बद्रीनारायण धाम सम्पूर्ण नेपालीको साझा धरोहर भएको बताउनुभयो । उहाँले नारायण पोखरेल प्रतिष्ठानले नेपाली समाजको पहिचान र गरिमा जोगाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो ।
प्रदेशसभा सदस्य केशव पोखरेलले प्रतिष्ठानको अभियान र सक्रियताको प्रशंसा गर्नुभयो । उहाँले प्रतिष्ठानको सत्प्रयास र अभियानले नागार्जुन नगरपालिकालाई मात्र नभएर सिङ्गो देशकै लागि नमुना धामको रूपमा पहिचान दिलाउन सफल भएको बताउनुभयो ।
प्रतिष्ठानका प्रमुख संरक्षक वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले नयाँ कार्यसमितिलाई आगामी कार्यकालको सफलताको शुभकामना दिँदै प्रतिष्ठानका लक्ष्य पूरा गर्न एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष डा खनालले आफ्नो आगामी कार्यकाललाई अझ उत्कृष्ट र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले संस्थाको नीति, नियम र स्थापित परिधिभित्र रहेर प्रतिष्ठानलाई सामाजिक तथा धार्मिक क्षेत्रमा अझ अगाडि बढाउने सङ्कल्प गर्नुभयो ।
