एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ
गण्डकी, ५ असोजः गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ४० पुरुष र १६ महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि अदालतमा बुझाइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।
प्रतिवादीबाट ११ वर्ष तीन महिना २७ दिन कैद र रु २२ लाख ८९ हजार १७५ बिगो असुलउपर भएको उहाँको भनाइ छ । चेक अनादर, बिगो लेनदन, बैंकिङ कसुर, सवारी ज्यान कसुर, अभद्र व्यवहारलगायत कसुरमा अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले पछिल्लो समय फरार प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको छ । गत साउनमा ६७ जना फरार प्रतिवादी पक्राउ परेका थिए । कार्यालयले गत महिना चालु मुद्दामा ११५ जनालाई पक्राउ गरिएको जनाएको छ ।
भदौमा अपराधसँग सम्बन्धित १६४ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये जघन्य तथा गम्भीर अपराधका २०, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधका नौ, आर्थिक अपराधका १७ र अन्य अपराधसँग सम्बन्धित ११८ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
–––
