चलचित्र क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना
काठमाडौँ, ३१ भदौः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कला, संस्कृति तथा राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित चलचित्रको संरक्षण, प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
विश्वप्रसिद्ध ‘एकेडेमी अफ मोसन पिक्चर आट्र्स एन्ड साइन्सेज (अस्कर अवार्ड)को ९९औँ संस्करणका लागि नेपालको प्रतिनिधित्व गरिरहेको चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’को टोलीसँग आज मन्त्रालयमा भएको भेटमा सञ्चारमन्त्री डा तिमिल्सिनाले कला क्षेत्रको जगेर्ना गर्नु राज्यको दायित्व भएको बताउनुभएको हो ।
उक्त चलचित्रका निर्माता अनुप पौडेल, कलाकार एलिज घिमिरेलगायत सहभागी टोलीले चलचित्र क्षेत्रको विकास र अन्तरराष्ट्रियस्तरमा नेपाली चलचित्रको प्रवर्द्धनका लागि सरकारका तर्फबाट सहयोग तथा सहकार्यको अपेक्षा राखेको थियो ।
सञ्चारमन्त्री तिमिल्सिनाले समग्र चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनका लागि मन्त्रालयबाट आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरकार तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले नेपाली कला, संस्कृति र राष्ट्रिय महत्त्वका विषयवस्तुलाई चलचित्रमार्फत अन्तरराष्ट्रियस्तरमा पुर्याउने प्रयासलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभयो ।
सञ्चारमन्त्री तिमिल्सिनाले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न सरकार नीतिगत रूपमा अघि बढिरहेको जानकारी दिनुभयो ।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न रु तीन करोड ५० लाख अनुदान रकम विनियोजन गरेको छ ।
उक्त बजेट कार्यान्वयन गर्न मन्त्रालयले ‘सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणको लागि प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी कार्यविधि, २०८३’ निर्माणको काम अन्तिम चरणमा पुर्याएको मन्त्री तिमिल्सिनाले बताउनुभयो ।
उक्त कार्यक्रममार्फत सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषय समेटिएका यथार्थपरक, मौलिक र उत्कृष्ट चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने सरकारको उद्देश्य रहेको उहाँको भनाइ छ ।
सञ्चारमन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीतिगत सुधारलाई प्राथमिकतामा राखिएको बताउनुभयो । अहिले संसद्मा विचाराधीन रहेको चलचित्र विधेयकलाई बलियो र कार्यान्वयनयोग्य बनाउने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
चलचित्र क्षेत्रमा लामो समयदेखि अपेक्षा गरिएको नीतिगत तथा संरचनागत परिवर्तनलाई व्यवहारमै अनुभूत हुनेगरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । चलचित्र क्षेत्रको विकासका लागि राज्यको सहयोगलाई नीतिगत, कानुनी तथा आर्थिक पक्षसँग जोडेर अघि बढाउने सरकारको तयारी रहेको उहाँको भनाइ थियो ।
अविनाशविक्रम शाह निर्देशित ‘तिनीहरू’ यसअघि कान्स फिल्म फेस्टिभलमा पुरस्कृत भएको थियो । अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा प्राप्त सो उपलब्धिलाई सम्मान गर्दै चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डले उक्त चलचित्रलाई रु दुई लाख ५० हजार सम्मान प्रदान गरेका थिए ।
निर्माता पौडेलका अनुसार अस्करको ९९औँ संस्करणका लागि छनोट भएसँगै चलचित्रले अन्तरराष्ट्रियस्तरमा नेपालको चलचित्र उद्योग, कला, संस्कृति र मौलिक कथावस्तुको प्रतिनिधित्व गर्नेछ ।
यसैबीच, चलचित्रको बिहीबार विशेष प्रदर्शन गर्ने तयारी गरिएको पनि पौडेलले बताउनुभयो । विशेष प्रदर्शनमार्फत चलचित्रको विषयवस्तु तथा यसले उठाएको विषयवस्तु र राष्ट्रिय महत्त्वका पक्षबारे नीति निर्माता तथा सरोकारवालालाई जानकारी गराउने उद्देश्य राखिएको उहाँको भनाइ छ ।
