Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २९ सोमबार |

कास्की, २९ भदौ : ढल्किदो उमेरमा खेलकुदतर्फको आकर्षण बढाउने उद्देश्यले पोखरामा प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

    पोखरा महानगरपालिका–१९ लामाचौरस्थित गुरुङ–मगर समाजको आयोजनामा स्थानीय पातीघारी खेल मैदानमा आगामी असोज १ देखि ४ गतेसम्म खुला प्रौढ भलिबल प्रतियोगिता सञ्चालन हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

    प्रतियोगितामा पुरुष र महिलातर्फ छुट्टाछुट्टै टोलीले सहभागिता जनाउने खेल संयोजक सन्दीप थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म पुरुषतर्फ १७ र महिलातर्फ ११ टोली दर्ता भइसकेका छन् । दर्ताको अन्तिम समयसम्म पुरुषतर्फ २५ र महिलातर्फ २० टोलीको सहभागिता रहने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

    प्रतियोगितामा देशका जुनसुकै स्थानबाट टोलीले सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ । पुरुषतर्फ ४० वर्ष र महिलातर्फ ३० वर्ष उमेर पूरा भएका खेलाडीले प्रतियोगितामा भाग लिन पाउने आयोजकले जनाएको छ ।

    पुरुषतर्फको विजेता टोलीले रु एक लाख एक हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले रु ६१ हजार तथा तृतीय हुने टोलीले रु ३१ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    त्यसैगरी महिलातर्फ विजेता टोलीले रु ५१ हजार, उपविजेताले रु ३१ हजार र तृतीय हुने टोलीले रु १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने समाजका कोषाध्यक्ष सूर्य पुर्जा मगरले जानकारी दिनुभयो ।

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विधागत पुरस्कारसमेत प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, ब्लकर, लिब्रो र स्पाइकरलाई नगद पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।

    प्रतियोगितामा सहभागी हुन पुरुषतर्फ रु सात हजार र महिलातर्फ रु चार हजार ५०० दर्ता शुल्क निर्धारण गरिएको छ । प्रतियोगिता सञ्चालनका क्रममा हुने आम्दानीबाट खर्च कटाएर बचत भएको रकममध्ये केही रकम स्थानीय सरकारमार्फत भोटेकोशी बाढी प्रभावितको सहयोगमा उपलब्ध गराइने खेल संयोजक मगरले बताउनुभयो । 

    उहाँका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब रु १२ लाख खर्च हुने अनुमान गरिएको छ भने विभिन्न सहयोगदाता तथा संस्थाबाट रु १२ लाख ५० हजार सहयोग संकलन हुने अपेक्षा गरिएको छ ।

    समाजका अध्यक्ष युग गुरुङले गुरुङ–मगर समाजले पहिलोपटक आयोजना गर्न लागेको प्रतियोगिताले प्रौढ उमेरका व्यक्तिलाई समेत खेलकुदमा सक्रिय बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । “भलिबल खेलको विकास, संरक्षण र प्रवर्द्धनसँगै स्थानीयस्तरमा खेलकुदको वातावरण निर्माण गर्न प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan