नयाँ दलको आवरणमा पुरानै रोग नफैलियोस्
काठमाडौं, २६ भदौ । नेपालको राजनीतिमा ‘नयाँ’ शब्द आफैंमा अब आकर्षणको विषय मात्र रहेन, यो जनताको अपेक्षाको अर्को नाम बनेको छ।
पुराना दलका वर्षौंका शासन, गुट, भागबण्डा, पहुँच, बिचौलिया र नेतृत्वको अहंकारबाट आजित भएको जनताले नयाँ राजनीतिक शक्तिलाई अवसर दिएको हो। तर प्रश्न अब यति मात्र होइन– नयाँ पार्टीले पुराना दललाई विस्थापित गर्न सक्छ कि सक्दैन भन्ने पनि होइन। प्रश्न अझ गम्भीर छ– नयाँ पार्टी आफैं पुरानो रोगको शिकार हुन्छ कि हुँदैन?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज यही निर्णायक मोडमा उभिएको छ। जनताले रास्वपालाई कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी वा मधेसकेन्द्रित दलको अर्को संस्करण बनाउन मत दिएका होइनन्।
उनीहरूले नयाँ राजनीतिक संस्कार, नयाँ कार्यशैली, पारदर्शी निर्णय प्रक्रिया र व्यक्तिभन्दा संस्थालाई ठूलो बनाउने राजनीति खोजेका हुन्। तर सत्ता प्राप्तिपछि राजनीतिमा सबैभन्दा पहिले हराउने कुरा नै अक्सर त्यही ‘नयाँपन’ हुने गर्छ।
हिजो पुराना दलका नेताहरूले जनतासँग परिवर्तनका भाषण गरे। सत्तामा पुगेपछि उनीहरूका वरिपरि सानो घेरा बन्यो। त्यो घेराभित्र पुगेपछि मात्र पहुँच, अवसर र निर्णयको ढोका खुल्ने अवस्था बन्यो।
कार्यकर्ता बिस्तारै ‘कार्यकर्ता’ रहेनन्, उनीहरू नेताको व्यक्तिगत प्रभाव विस्तार गर्ने साधन बन्न पुगे। सांसदहरू पनि जनप्रतिनिधिभन्दा गुटका प्रतिनिधि बन्न थाले।
रास्वपाले त्यही बाटो समात्न खोजेको हो भने नेपाली जनताले नयाँ झण्डा होइन, पुरानै राजनीतिक रोगको नयाँ प्याकेज मात्र पाउनेछन्।
रास्वपाले बुझ्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा यही हो– जनताले उसलाई पुराना दलको विकल्पका रूपमा मत दिएका हुन्, पुराना दलको अर्को संस्करण बन्नका लागि होइन।
कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादीलगायत विभिन्न दलको राजनीति छाडेर रास्वपा रोज्नेहरू केवल टिकट र सांसद पदको खोजीमा आएका होइनन्।
उनीहरू राजनीतिक संस्कार बदल्ने आशा बोकेर आएका हुन्। उनीहरूले आफ्नो विगतको राजनीतिक पहिचानसमेत जोखिममा राखेर नयाँ यात्रामा प्रवेश गरेका हुन्।
तर आज त्यही समूहभित्र असन्तुष्टि पैदा हुन्छ, सांसदहरू आफ्नो भूमिका खोज्नुपर्छ, निर्णय प्रक्रियामा आफूलाई बाहिर पारिएको महसुस गर्छन् र काम गराउन शक्ति केन्द्र खोज्नुपर्ने अवस्था आउँछ भने प्रश्न उठ्छ– नयाँ कहाँ छ?
सबैभन्दा संवेदनशील प्रश्न प्रधानमन्त्री र पार्टी सभापतिको सम्बन्धमा देखिएको द्वैध नेतृत्व हो। प्रधानमन्त्री सरकारको नेतृत्व गर्छन्। पार्टी सभापति संगठन र राजनीतिक नेतृत्व गर्छन्।
लोकतान्त्रिक व्यवस्थामा यी दुई भूमिकाबीच स्पष्ट सीमा, आपसी सम्मान र संस्थागत समन्वय आवश्यक हुन्छ। तर यदि प्रधानमन्त्री एकातिर र पार्टी सभापति अर्कोतिर देखिन थाले, सांसदहरू कुन ढोकाबाट छिर्ने भनेर अलमलिन थाले र निर्णयको अन्तिम शक्ति संस्थाभन्दा व्यक्तिको निकटतामा निर्भर हुन थाल्यो भने त्यो नयाँ राजनीतिक संस्कार होइन।
त्यो पुरानै रोगको पुनरावृत्ति हो। पार्टी सभापति शक्तिशाली हुनु गलत होइन। प्रधानमन्त्री शक्तिशाली हुनु पनि गलत होइन। लोकतान्त्रिक व्यवस्थामा नेतृत्व बलियो हुनुपर्छ। तर नेतृत्व बलियो हुनु र शक्ति व्यक्तिकेन्द्रित हुनु एउटै कुरा होइन।
समस्या त्यतिबेला सुरु हुन्छ, जब संस्थाभन्दा व्यक्ति ठूलो हुन्छ। नियमभन्दा पहुँच ठूलो हुन्छ। प्रक्रियाभन्दा फोन ठूलो हुन्छ। योग्यताभन्दा निकटता ठूलो हुन्छ।
हिजो जनताले ‘नेताको मान्छे नभई काम हुँदैन’ भन्ने संस्कारको विरोध गरेका थिए। आज आफ्नै सांसदले ‘कसलाई भेट्ने? कसको नजिक जाने? कसले काम गरिदिन्छ?’ भनेर शक्ति केन्द्र खोज्नुपर्ने अवस्था आयो भने रास्वपाले ऐनामा आफ्नो अनुहार हेर्नुपर्ने बेला आएको मान्नुपर्छ। जनताले नेता फेरेका हुन्, दरबार होइन।
नयाँ पार्टीको अर्थ नयाँ अनुहार मात्र होइन। नयाँ पार्टीको अर्थ नयाँ निर्णय पद्धति हो। नयाँ संस्कार हो। नयाँ जवाफदेहिता हो। नयाँ संस्थागत अभ्यास हो। अनुहार नयाँ, व्यवहार पुरानो भयो भने त्यो परिवर्तन होइन, राजनीतिक मेकअप मात्र हो।
रास्वपाभित्र अहिले उठेका असन्तुष्टिलाई ‘विद्रोह’, ‘अनुशासनहीनता’ वा ‘पार्टीविरोधी गतिविधि’को लेबल लगाएर दबाउने प्रयास भयो भने त्यो झन् खतरनाक हुनेछ। लोकतान्त्रिक पार्टीमा असहमति कमजोरी होइन, स्वास्थ्यको संकेत हो।
सांसदले प्रश्न गर्न पाउनुपर्छ। कार्यकर्ताले नेतृत्वलाई प्रश्न गर्न पाउनुपर्छ। निर्णयप्रति असहमति राख्न पाउनुपर्छ। नेतृत्वको आलोचना गर्न पाउनुपर्छ। जहाँ प्रश्न गर्न पाइँदैन, त्यहाँ लोकतन्त्रको नाममा संगठन मात्र बाँच्छ।
रास्वपाले यदि साँच्चै नयाँ राजनीतिक संस्कार निर्माण गर्न चाहन्छ भने उसले आलोचकलाई शत्रु होइन, ऐना मान्नुपर्छ। असन्तुष्ट सांसदलाई दबाउने होइन, सुन्नुपर्छ। कार्यकर्तालाई मौन बनाउने होइन, सहभागी गराउनुपर्छ। निर्णयलाई गोप्य घेराभित्र राख्ने होइन, संस्थागत बनाउनुपर्छ।
किनकि पार्टी केही व्यक्तिको निजी कम्पनी होइन। सांसदहरू नेतृत्वको निजी कर्मचारी होइनन्। कार्यकर्ताहरू ताली बजाउने भीड होइनन्। उनीहरू सबै राजनीतिक संस्थाका हिस्सेदार हुन्।
आज रास्वपाले एउटा कठोर प्रश्न आफैंलाई सोध्नुपर्छ–हामी पुराना दललाई विस्थापित गर्न आएका हौँ कि पुराना दलका कमजोरीहरूलाई नयाँ झण्डामुनि दोहोर्यााउन? यदि उत्तर पहिलो हो भने त्यसको प्रमाण भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ।
पार्टीभित्र जिम्मेवारी स्पष्ट हुनुपर्छ। निर्णय प्रणाली पारदर्शी हुनुपर्छ। सांसदहरूको संस्थागत भूमिका सुनिश्चित हुनुपर्छ। सरकार र पार्टीबीचको सम्बन्ध स्पष्ट हुनुपर्छ। प्रधानमन्त्री र सभापतिबीच समन्वय देखिनुपर्छ। शक्ति केही व्यक्तिको वरिपरि थुप्रिनु हुँदैन। अन्यथा आजको ‘नयाँ’ भोलिको ‘पुरानो’ बन्न धेरै समय लाग्ने छैन।
नेपालको राजनीतिमा एउटा कठोर सत्य छ– सत्ता परिवर्तन गर्न सजिलो छ, राजनीतिक संस्कार परिवर्तन गर्न कठिन छ। पुराना दललाई जनताले धेरै पटक अवसर दिए।
उनीहरूले सत्ता पाए, सरकार बनाए, संविधान बनाए, आन्दोलन गरे, घोषणापत्र लेखे। तर अन्ततः उनीहरूलाई जनताले प्रश्न गरे– तपाईंहरू बदलिनुभयो कि केवल कुर्सी बदल्नुभयो?
अब यही प्रश्न रास्वपामाथि पनि आउँदैछ। रास्वपाको परीक्षा चुनाव जितेर सकिएको छैन। बरु त्यहीँबाट सुरु भएको छ। प्रतिपक्षमा हुँदा परिवर्तनको कुरा गर्न सजिलो हुन्छ। सत्ता हातमा आएपछि आफूलाई नियन्त्रण गर्न सक्नु नै वास्तविक राजनीतिक परिपक्वता हो।
सत्ता पाएपछि पनि आफूलाई जनताको सेवक ठान्न सक्ने शक्ति नै वास्तवमा नयाँ शक्ति हो। आज सांसदहरू मौन छन् कि बोलिरहेका छन्?
कार्यकर्ताहरू उत्साहित छन् कि निराश? निर्णय संस्थाले गरिरहेको छ कि व्यक्तिले? प्रधानमन्त्री र पार्टी नेतृत्वबीच समन्वय छ कि शक्ति–प्रतिस्पर्धाको छाया? यी प्रश्नको उत्तर अब रास्वपाले दिनैपर्छ।
किनकि जनताको स्मरणशक्ति कमजोर छैन। हिजो कांग्रेसलाई प्रश्न गरिएको थियो। एमालेसँग हिसाब मागिएको थियो। माओवादीसँग पनि परिवर्तनको वाचा कहाँ पुग्यो भनेर सोधिएको थियो। अब नयाँ शक्ति पनि त्यही कठघरामा उभिनेछ।
रास्वपाले पुराना दललाई दोष दिएर सधैं उम्किन सक्दैन। पुराना दल खराब थिए भनेर नयाँ पार्टी स्वतः राम्रो हुँदैन। नयाँ पार्टी राम्रो हुन उसको आफ्नै व्यवहार राम्रो हुनुपर्छ।
सबैभन्दा ठूलो विडम्बना त्यतिबेला हुनेछ, जब पुराना दलको ‘तानाशाही शैली’को विरोध गरेर जन्मिएको पार्टी आफैंभित्र मौन सांसद, निराश कार्यकर्ता र शक्तिशाली केही व्यक्तिको घेरा निर्माण गर्न पुग्नेछ।
त्यो दिन रास्वपाको संकट विपक्षीले सिर्जना गरेको हुनेछैन। त्यो संकट उसैले आफ्नै हातले निर्माण गरेको हुनेछ।
त्यसैले अझै समय छ। रास्वपाले आफूलाई जोगाउने हो भने आफ्नै वरिपरि बनेको सम्भावित शक्ति–घेरा तोड्नुपर्छ। व्यक्तिभन्दा संस्था ठूलो बनाउनुपर्छ। प्रश्नलाई ठाउँ दिनुपर्छ। असहमतिलाई सम्मान गर्नुपर्छ। सांसदलाई सांसदकै हैसियत दिनुपर्छ। कार्यकर्तालाई निर्णय प्रक्रियाको हिस्सा बनाउनुपर्छ।
अन्ततः जनताले अब नयाँ अनुहार मात्र खोजिरहेका छैनन्। उनीहरू नयाँ चरित्र खोजिरहेका छन्। नयाँ झण्डा, नयाँ लोगो र नयाँ नारा देखाएर पुरानै शैलीमा राजनीति गर्ने हो भने जनताको विश्वास धेरै दिन टिक्दैन।
रास्वपाको वास्तविक परीक्षा चुनावमा होइन, सत्ता हातमा आएपछि आफूलाई कति बदल्न सक्छ भन्नेमा छ। अब प्रश्न रास्वपाले अरूलाई के गर्योह भन्ने होइन। प्रश्न यो हो–रास्वपा आफैं पुरानो हुँदैछ कि साँच्चै नयाँ बन्दैछ?
इतिहासले यसको फैसला गर्नेछ। तर इतिहासको कठघरामा उभिनुअघि आफूलाई सच्याउने अवसर अझै रास्वपाको हातमा छ। त्यो अवसर गुम्यो भने जनताको अर्को फैसला कठोर हुन सक्छ।
किनकि नेपाली मतदाताले अब झण्डा हेरेर होइन, चरित्र हेरेर फैसला गर्ने समय सुरु गरिसकेका छन्।
यो पनि पढ्नुहोस् ।
भाद्र २३ को जगमा टेकेर भाद्र २४ मा विध्वंसात्मक काण्ड भयो
