Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आयुर्वेद चिकित्सालयमा पञ्चकर्म र फिजियोथेरापी सेवा लिने बढ्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १२ शनिबार | (रासस)

दमौली (तनहुँ), १२ मङ्सिरः चिसो मौसम सुरु भएसँगै बाथरोग, पक्षघात (प्यारालाइसिस) तथा हड्डी खिइने समस्याको उपचारका लागि यहाँस्थित प्रदेश आयुर्वेद चिकित्सालयमा सेवाग्राहीको सङ्ख्या बढ्न थालेको छ । चिकित्सालयले पञ्चकर्म र फिजियोथेरापीमार्फत उपचार सेवा प्रदान गर्दै आएको छ ।

    चिकित्सालयमा पञ्चकर्मअन्तर्गत पूर्वकर्मका रूपमा स्नेहन र स्वेदन, शिरोधारा तथा बस्तीकर्मलगायतका सेवा उपलब्ध छन् । त्यस्तै, विभिन्न शारीरिक समस्याबाट प्रभावित बिरामीलाई लक्षित गरी फिजियोथेरापी सेवा पनि सञ्चालनमा रहेको छ ।

    चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंका अनुसार दैनिक महिला तथा पुरुष गरी करिब ४० जनाले पञ्चकर्मअन्तर्गतका सेवा लिइरहनुभएको छ । फिजियोथेरापी सेवाअन्तर्गत दैनिक २० देखि ३० जनासम्मलाई सेवा दिन सकिने क्षमता रहेको उहाँले जानकारी दिनुभयो । 

चिसो मौसममा बाथरोग, पक्षघात तथा हड्डी खिइनेजस्ता समस्या भएका बिरामी उपचारका लागि आउने गरेका छन् । नियमित उपचार तथा सेवाप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको पाइएको छ । उपचार सेवा लिएका बिरामीमा सुधार देखिने क्रम बढ्दै गएको र यसले आयुर्वेदिक उपचारप्रति सर्वसाधारणको विश्वाससमेत बढाएको उहाँले उल्लेख गर्नुभयो । 

चिकित्सालयले पञ्चकर्म र फिजियोथेरापी सेवालाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको छ । पञ्चकर्मअन्तर्गतका विभिन्न उपचार विधि र फिजियोथेरापीले शारीरिक दुखाइ, चलायमानतामा समस्या तथा विभिन्न मासपेशी र स्नायुसम्बन्धी समस्याबाट प्रभावित बिरामीलाई उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

स्नेहनमा शरीरमा तेल वा औषधिजन्य पदार्थको प्रयोग गरी उपचार गरिन्छ भने स्वेदनमा उपयुक्त विधिबाट शरीरलाई स्वेदित गरिन्छ । शिरोधारामा निधारको भागमा निश्चित प्रक्रियाअनुसार औषधिजन्य तरल पदार्थको धारा प्रवाह गरिन्छ । त्यस्तै, बस्तीकर्म आयुर्वेदको पञ्चकर्मअन्तर्गत पर्ने उपचार विधि हो । ती सेवा बिरामीको स्वास्थ्य अवस्था र आवश्यकताका आधारमा प्रदान गरिने चापागाईंले बताउनुभयो । 

चिकित्सालयमा नश्यकर्म सेवा लिइरहेका पूर्ण विकले सेवा सुरु गरेपछि नाकसम्बन्धी समस्या कम हुँदै गएको बताउनुभयो । चिसो मौसमको सङ्क्रमणपछि नाकमा समस्या देखिएपछि आफू नश्यकर्म सेवा लिन चिकित्सालय आउन थालेको उहाँले जानकारी दिनुभयो । सेवा लिन थालेपछि समस्यामा क्रमिक सुधार हुँदै गएको उहाँको अनुभव छ ।

चिकित्सालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२÷८३ मा नौ हजार ५०५ जनाले पूर्वकर्म तथा पञ्चकर्म सेवा लिएका थिए । सोही अवधिमा दुई हजार २४० जनाले फिजियोथेरापी सेवा लिएको र ९७ जनाले शिरोधारा सेवा प्राप्त गरेको जानकारी दिइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan