Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १२ शनिबार | (रासस)

हुम्ला, १२ मङ्सिरः जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख आम्दानी गरेका छन् ।

    कृषि विकास कार्यालय हुम्लाका अनुसार यस वर्ष जिल्लामा पाँच हजार पाँच मेट्रिक टन स्याउ उत्पादन भएको छ । कूल ६९० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउमध्ये एक हजार ३७७ दशमलव छ मेट्रिक टन जिल्ला बाहिर बिक्रीका लागि पठाइएको कार्यालय प्रमुख चूडामणि पन्तले बताउनुभयो ।

    गाउँपालिकागत रूपमा सबैभन्दा बढी सर्केगार्डबाट ५०० मेट्रिक टन स्याउ निकासी भएको छ । त्यस्तै, सिमकोटबाट ४००, खार्पुनाथबाट २००, चङ्खेलीबाट १४०, ताँजाकोटबाट ६७ दशमलव छ, नाम्खाबाट ५० र अदानचुलीबाट २० मेट्रिक टन स्याउ बिक्री गर्न जिल्ला बाहिर पठाइएको  छ ।

    काँचो स्याउको निकासी रोक्न गत साउनदेखि गाउँपालिकाका कृषि प्राविधिकको सिफारिस अनिवार्य गरिएको थियो । तर, सिफारिसबिना पनि स्याउ बाहिर गएको सूचना प्राप्त भएकाले वास्तविक कारोबार अझै बढी हुन सक्ने प्रमुख पन्तको भनाइ छ । व्यक्तिगत रूपमा खरिद गरी पठाइएको र जिल्लाभित्रै खपत भएको स्याउको विवरण भने यसमा समावेश नगरिएको उहाँले बताउनुभयो ।

    सडक सञ्जाल विस्तारसँगै हुम्लाको स्याउले जिल्ला बाहिरको बजार पाउन थालेको हो । गत वर्ष करिब रु चार करोडको स्याउ निकासी भएकोमा यस वर्ष कारोबार दोब्बरभन्दा बढी पुगेको छ । स्याउ बिक्रीबाट आम्दानी हुन थालेपछि किसानमा खेतीप्रति उत्साह बढेको स्याउ खरिद बिक्री कारोबार गरिरहेका अदानचुली–३ का अर्जुन फडेराले बताउनुभयो ।

    यस वर्ष हुम्लामा ए ग्रेडको स्याउ प्रतिकिलो रु ६०, बी ग्रेडको रु ५० र सी ग्रेडको रु ४० मा बिक्री भएको थियो । हुम्लाबाट पहिलोपटक आठ मेट्रिक टन फुजी स्याउसमेत जिल्ला बाहिर बिक्री भएको कृषि विकास कार्यालय हुम्लाको तथ्याङ्कमा उल्लेख छ । हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकाबाट मात्रै ११ ट्रक स्याउ निकासी भएको र अबको पाँच वर्षमा कम्तीमा वार्षिक ५५ ट्रक स्याउ निकासी गर्ने गरी स्याउ जोन कार्यक्रम बनाइएको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan