खानेपानी आयोजना संस्थानलाई हस्तान्तरण
विराटनगर, ११ मङ्सिरः जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थान विराटनगरलाई आज हस्तान्तरण गरिएको छ ।
करिब दुई अर्ब २९ करोड जापानी येनको लागतमा निर्माण सम्पन्न भएको आयोजनाले विराटनगर महानगरका एक लाख नगरवासीलाई स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्य रहेको छ । आयोजनाको विरानगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र नेपालका लागि जापानी राजदूत तोरु माइदाले आयोजनाको संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
सो अवसरमा प्रमुख कोइरालाले विराटनगर खानेपानी सुधार आयोजना दीर्घकालीन महत्त्वको परियोजना भएको बताउँदै आयोजनाबाट १५ वडाका करिब एक लाख नागरिकले स्वच्छ खानेपानीको सुविधा प्राप्त गर्ने जानकारी दिँदै दोस्रो चरणको आयोजना सञ्चालन गर्न जापान सरकारसँग आग्रह गर्नुभयो ।
नेपालका लागि जापानका राजदूत तोरु माइदाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव मनाइरहेको वर्षमा आयोजना सम्पन्न हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
जापान लामो समयदेखि नेपालको विकासमा साझेदार रहँदै आएको उल्लेख गर्दै उहाँले मेलम्ची खानेपानी आयोजना र पोखरा खानेपानी सुधार आयोजनामा पनि जापानले सहयोग गरेको स्मरण गराउनुभयो । विराटनगरमा अर्काे महत्त्वपूर्ण खानेपानी आयोजना सम्पन्न गर्न पाउँदा जापान सरकार गौरवान्वित भएको उहाँको भनाइ थियो ।
नेपाल खानेपानी संस्थानले पाइप जडानको काम पूरा गरेपछि प्रणाली औपचारिक रूपमा सञ्चालनमा आउने र विराटनगरको कुल जनङ्ख्याको करिब ४२ प्रतिशत नागरिकले स्वच्छ तथा सुरक्षित खानेपानी पाउने उहाँले बताउनुभयो ।
जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रतिनिधि इन्डो केइले पानी मानव जीवन र समाजका लागि अपरिहार्य रहेको बताउनुभयो । सुरक्षित र भरपर्दो खानेपानी आपूर्ति जनस्वास्थ्य सुधारका लागि मात्र नभई नागरिकको जीवनस्तर उकास्न, आर्थिक गतिविधि बढाउन र दिगो सहरी विकासका लागि समेत महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो ।
नेपाल खानेपानी संस्थानका निमित्त महाप्रवन्धक शैलेन्द्र साह, संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारले आयोजनाबाट विराटनगरको खानेपानी आपूर्तिमा सुधार आउने विश्वास व्यक्त गर्दै बाँकी वडालाई समेटेर दोस्रो चरणको परियोजना सञ्चालन गर्न आग्रह गर्नुभयो ।
सन् २०२४ जुन २५ मा निर्माण सुरु भएको आयोजना सन् २०२६ अक्टोबर १४ मा सम्पन्न भएको हो । जाइकाको आर्थिक सहयोगमा जापानको एमरएस शिमिजु कर्पाेरेसनले नेपाल खानेपानी संस्थानअन्तर्गत सम्पन्न आयोजनाको विराटनगरमा ५६ दशमलव २६ किलोमिटर पाइप लाइन विस्तार गरिएको छ ।
र्यापिड स्यान्ड फिल्टर प्रविधिमा आधारित चारवटा खानेपानी प्रशोधन केन्द्र, चारवटा पानी भण्डारण ट्याङ्की र त्योसँग सम्बन्धित पम्प भवन, एउटा ओभरहेड पानी ट्याङ्की तथा एउटा प्रशासनिक भवन निर्माण गरिएको छ । परियोजनाअन्तर्गत एक हजार १९८ घरमा खानेपानीका धारा जडानसमेत गरिएको छ ।
आयोजनाको सञ्चालन तथा व्यवस्थापन नेपाल खानेपानी संस्थानले गर्नेछ । यस आयोजनाले विराटनगरको खानेपानी आपूर्ति प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउनुका साथै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
