बाढीले पुरेको मर्स्याङ्दीको धार खुलाउने पहल
मनाङ, १० मङ्सिरः हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–४ र ५ नम्बर वडा जोड्ने मर्स्याङ्दी नदीमाथिको पुल बाढीमा आएको गेग्रानले छोपिएको छ । नदीलाई पुरानै धारमा ल्याउने उद्देश्यका साथ अध्ययन गरिने भएको छ ।
पुलमाथिबाट नदी बगेकाले यसलाई पुरानै धारमा ल्याउने लक्ष्यका साथ प्राविधिक टोलीमार्फत अध्ययन गरिने प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पर्यटकीय क्षेत्र भएकाले सहज यात्रालाई जोड दिनुपर्छ । यसैअनुरुप योजना बनाएर अगाडि बढ्नका लागि स्थानीय पालिकासहित सम्बन्धित निकायसमक्ष प्रतिवेदन पेश गर्ने तयारी गरेका छौँ ।”
नदीलाई परानै धारमा ल्याउन राष्ट्रिय विपद जाखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट रु ४० लाख र स्थानीय तहमार्फत रु १० लाख गरी कूल ५० लाखको लगानीमा नदीको व्यवस्थापन कार्य अगाडि बढाइएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढीले बगाएर ल्याएको गिट्टी, बालुवा, ढुङ्गा ठेक्कामार्फत बिक्री गरी नदीको व्यवस्थापनमा लगानी गरिनेछ ।
“कति नदीजन्य पदार्थ निकाल्नुपर्ने हुन्छ ? ठेक्का आह्वान गरी जतिसक्दो चाडो कामलाई तीव्र पारिनेछ”, अध्यक्ष घलेले भन्नुभयो, “पुल पक्की भएकाले कुनै पनि सामान बिग्रिएको छैन । यसले छिट्टै गति लिनेछ ।”
नदीलाई पुरानो धारमा ल्याउन के कति मात्रामा नदीजन्य पदार्थ निकाल्न सकिन्छ भन्ने बारेमा अध्ययन भइरहेको उहाँको भनाइ छ । अविरल वर्षापछि लमजुङ हिमालको फेदीबाट आएको गेग्रानसहितको बाढीले मस्र्याङ्दी नदी थुनिएर पुलमा क्षति पुगेको थियो ।
