Thursday 26th of November | २०८३ मङ्सिर १० बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जर्मनीको आर्थिक वृद्धिदर तेस्रो त्रैमासिकमा घटेर ०.१ प्रतिशतमा सीमित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १० बिहीबार | (रासस/सिन्ह्वा)

युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीको आर्थिक वृद्धिदर सन् २०२६ को तेस्रो त्रैमासिकमा सुस्त बनेको छ । निर्यात र लगानीमा आएको गिरावटका कारण जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा जर्मनीको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो त्रैमासिकको तुलनामा ०.१ प्रतिशतले मात्रै वृद्धि भएको हो ।
जर्मनीको संघीय तथ्यांक कार्यालय (डेस्टाटिस) ले बुधबार सार्वजनिक गरेको अन्तिम तथ्यांकअनुसार आर्थिक वृद्धिदर यसअघि गरिएको ०.२ प्रतिशतको प्रारम्भिक अनुमानभन्दा कम हो । दोस्रो त्रैमासिकमा भने अर्थतन्त्र ०.३ प्रतिशतले विस्तार भएको थियो ।
गत वर्षको सोही अवधिको तुलनामा तेस्रो त्रैमासिकमा जर्मनीको अर्थतन्त्र १.२ प्रतिशतले बढेको छ । यस अवधिमा निर्यात ३.१ प्रतिशतले र आयात मूल्य समायोजनपछि १.३ प्रतिशतले वृद्धि भएको तथ्यांकमा उल्लेख छ ।

सरकारी उपभोग खर्च पनि वार्षिक आधारमा १.७ प्रतिशतले बढेको छ। विशेषगरी संघीय सरकारको खर्च वृद्धि हुँदा यसमा योगदान पुगेको हो ।
डेस्टाटिसकी अध्यक्ष रुथ ब्रान्डले पहिलो अर्धवार्षिक अवधिमा भूराजनीतिक संकटका बाबजुद जर्मन अर्थतन्त्रले लचकता देखाए पनि तेस्रो त्रैमासिकमा गति गुमाएको बताउनुभएको छ ।
यस अवधिमा घरपरिवार र सरकारी उपभोग खर्चमा सामान्य वृद्धि भए पनि लगानी भने अघिल्लो त्रैमासिकको तुलनामा १.२ प्रतिशतले घटेको छ । मेसिनरी तथा उपकरणमा खर्च उल्लेख्य रूपमा घट्नु यसको प्रमुख कारण रहेको छ ।
त्यस्तै, वस्तु तथा सेवाको निर्यात पनि अघिल्लो त्रैमासिकको तुलनामा एक प्रतिशतले घटेको छ। सवारीसाधन तथा अटो पाट्र्स, रासायनिक पदार्थ र धातुजन्य उत्पादनको निर्यातमा गिरावट आएको हो ।

उच्च ऊर्जा लागत, आन्तरिक जलमार्गमा ढुवानी अवरोध तथा मध्यपूर्वको द्वन्द्वका कारण पहिले नै बढाइएको खरिदको प्रभाव कम हुँदै जाँदा जर्मन उद्योगको निर्यात थप दबाबमा परेको छ ।
जर्मनीको केन्द्रीय बैंकले चौथो त्रैमासिकमा विस्तारकारी सरकारी वित्तीय नीति र औद्योगिक मागमा सुधारका कारण आर्थिक वृद्धि पुनः गति लिन सक्ने अनुमान गरेको छ । यद्यपि उच्च ब्याजदर, ऊर्जा मूल्य र कमजोर व्यावसायिक लगानीले अर्थतन्त्रको पुनरुत्थानमा चुनौती थप्न सक्ने बताइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan