विपद्ले अभिभावक खोसे पनि बालबालिकाको भविष्य खोसिन दिइँदैन : गोल्जुङबाट संरक्षणको पहल सुरु
काठमाडौं, १० मंसिर । विपद्का कारण अभिभावक गुमाएका बालबालिकाको स्याहार, संरक्षण, शिक्षा र सुरक्षित भविष्य सुनिश्चित गर्ने उद्देश्यले रसुवाको गोल्जुङबाट विशेष पहल सुरु गरिएको छ।
‘विपद्ले अभिभावक खोस्न सक्छ, तर बालबालिकाको भविष्य खोसिन दिनु हुँदैन’ भन्ने सन्देशसहित सुरु गरिएको यस पहलले अभिभावकविहीन बनेका बालबालिकाको जीवनमा नयाँ आशा जगाउने अपेक्षा गरिएको छ।
यस अवसरमा माननीय मन्त्री सीता वादीले विपद्का कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण तथा दीर्घकालीन संरक्षण सुनिश्चित गर्नु राज्यको महत्वपूर्ण दायित्व भएको बताउनुभएको छ।
विपद्पछिको अवस्थामा बालबालिका सबैभन्दा बढी जोखिममा पर्ने भएकाले उनीहरूको तत्कालीन आवश्यकता पूरा गर्नुका साथै भविष्य सुरक्षित बनाउने गरी राज्यले जिम्मेवारी लिनुपर्नेमा जोड दिइएको छ।
गोल्जुङबाट सुरु भएको यस पहलले अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र सहयोग प्रदान गर्नुका साथै उनीहरू एक्ला छैनन्, राज्य उनीहरूको साथमा छ भन्ने भरोसा दिलाउने विश्वास गरिएको छ।
