रेग्मी र बानियाँलाई तारानाथ–धनेश्वरी स्मृति पुरस्कार
म्याग्दी, ७ मङ्सिर : तारानाथ–धनेश्वरी स्मृति प्रतिष्ठानले साहित्यकार रेखाकौशल रेग्मी र पत्रकार प्रताप बानियाँलाई तारानाथ–धनेश्वरी स्मृति पुरस्कार प्रदान गरेको छ ।
प्रतिष्ठानले आज आयोजित समारोहमा रेग्मी र बानियासहित आठ विद्यार्थीलाई पनि पुरस्कृत गरेको हो । बेनी नगरपालिका–५, पुलाचौरमा आयोजित समारोहमा साहित्य विधातर्फ म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक रेग्मी र पत्रकारितातर्फ नेपाल टेलिभिजनका बानियालाई जनही रु १० हजार नगदसहित सम्मान गरिएको हो ।
प्रतिष्ठानले विसं २०८१ र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गर्ने जनकल्याण माध्यमिक विद्यालयका छ र शालग्राम गण्डकी वेदविद्याश्रमका दुई विद्यार्थीलाई पनि पुरस्कृत गरेको छ ।
विसं २०८१ को एसइईमा जनकल्याण माध्यमिक विद्यालयबाट खसआर्यतर्फ गरिमा हमाल, जनजातितर्फ दीपिका श्रेष्ठ र दलिततर्फ दीपेन्द्र छिनेल परियार पुरस्कृत हुनुभएको छ । त्यस्तै, शालग्राम गण्डकी वेदविद्याश्रमका आलोक शर्मालाई पनि पुरस्कृत गरिएको छ ।
यसैगरी, विसं २०८२ को एसइईमा उत्कृष्ट अङ्क ल्याउने जनकल्याण माध्यमिक विद्यालयका आयुष्मा सुवेदी, प्रशान्त श्रेष्ठ र अञ्जुली दर्जी तथा शालग्राम गण्डकी वेदविद्याश्रमका भुवन गौतम पुरस्कृत हुनुभएको छ ।
प्रतिष्ठानले शिक्षा, पत्रकारिता, साहित्य र सङ्गीत विधालाई समेटेर वि.सं. २०७७ मा रु १५ लाखको अक्षयकोष स्थापना गरेको थियो । जनकल्याण माध्यमिक विद्यालयका संस्थापक तारानाथ र उहाँकी श्रीमती धनेश्वरीको स्मृतिमा उहाँहरूका छोरा, बुहारी तथा नातिनातिनाले उक्त कोष स्थापना गर्नुभएको हो ।
