Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इरानमाथि आक्रमण गरे क्षेत्रीय युद्ध चर्किन सक्ने इजरायली सेनाको चेतावनी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार | (रासस/सिन्ह्वा)

इजरायलले इरानमाथि सम्भावित सैन्य आक्रमण गरे त्यसले व्यापक क्षेत्रीय युद्ध निम्त्याउन सक्ने चेतावनी इजरायली रक्षा बल (आईडीएफ) ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई दिएको छ ।

द टाइम्स अफ इजरायलले आइतबार सार्वजनिक गरेको समाचारअनुसार, इजरायलले इरानविरुद्ध सैन्य विकल्पबारे विचार गरिरहेका बेला गत साता नेतान्याहु र वरिष्ठ रक्षा अधिकारीहरूबीच भएको गोप्य बैठकमा सेनाले यस्तो चेतावनी दिएको हो। समाचारमा हिब्रु भाषाको टेलिभिजन नेटवर्क च्यानल १२ लाई उद्धृत गरिएको छ ।

इजरायली सैन्य गुप्तचर निकायले इरानमाथि आक्रमण भए लेबनान, सिरिया र गाजासहित विभिन्न मोर्चामा एकैपटक द्वन्द्व चर्किन सक्ने आकलन गरेको छ । नेतान्याहु र इजरायली गुप्तचर संस्था मोसादले भने सम्भावित सैन्य कारबाही तीनदेखि पाँच दिनभित्र सीमित गर्न सकिने अपेक्षा गरेको समाचारमा उल्लेख छ ।

यसैबीच, विपक्षी राजनीतिज्ञ अविग्दोर लिबरम्यानले नेतान्याहुले अमेरिकाको सहभागिता वा स्वीकृतिबिनै एकपक्षीय रूपमा इरानमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएको समाचारमा जनाइएको छ ।

लिबरम्यानले गत साता इजरायलले अहिले इरानमाथि आक्रमण गर्नु उचित नहुने बताउँदै यस्तो कदम पूर्ण रूपमा राजनीतिक स्वार्थबाट प्रेरित हुने टिप्पणी गरेका थिए ।

सार्वजनिक प्रसारक कानलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार, एक अज्ञात स्रोतले नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि ‘सकेसम्म चाँडो’ आक्रमण गर्न आग्रह गरिरहेको दाबीसमेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan