Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इन्डोनेसियाको क्यान्डी कारखानामा आगलागी, ३४ बेपत्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार | (रासस-एपी)

जकार्ता, ७ मङ्सिर : इन्डोनेसियाको जकार्तानजिकै रहेको क्यान्डी कारखानामा भएको भीषण आगलागीपछि बेपत्ता ३४ श्रमिकको खोजीमा सोमबार ५०० भन्दा बढी उद्धारकर्मी परिचालन भएका छन् । आगलागीमा २४ जनाको शव वा मानव अवशेष सङ्कलन गरिएको छ भने २९ जनाको उद्धार गरिएको छ ।

बान्टेन प्रान्तस्थित पिटी फोनुसा अगुङ मुलिया कारखानामा शनिबार आगलागी भएको थियो । तीनतले भवनमा फैलिएको आगो नियन्त्रणमा लिन अग्निनियन्त्रकलाई करिब १४ घण्टा लागेको थियो । चिस्याउने उपकरणबाट सुरु भएको आगो मुख्यतः दोस्रो तलामा फैलिएको अधिकारीहरूले बताएका छन् ।

आगलागी हुँदा कारखानामा करिब ३०० श्रमिक कार्यरत थिए । तीमध्ये ६३ जना सबैभन्दा बढी प्रभावित क्षेत्रमा रहेको अनुमान गरिएको छ । उद्धार गरिएका २९ जनामध्ये पाँच जनालाई अस्पताल भर्ना गरिएको छ ।

राष्ट्रिय खोज तथा उद्धार निकाय बसरनासले मृतकको यकिन सङ्ख्या सार्वजनिक गरेको छैन । सङ्कलित मानव अवशेषको पहिचानका लागि फरेन्सिक परीक्षण गरिने जनाएको छ ।

सैनिक, प्रहरी, रेडक्रसका कर्मचारी र स्वयंसेवकसहितको उद्धार टोलीले करिब दुई हजार वर्गमिटर क्षेत्रफलमा खोजी गरिरहेको छ । बेपत्ता श्रमिकका आफन्त घटनास्थलमा उद्धारको खबर पर्खिरहेका छन् ।

उक्त कारखानामा इन्डोनेसियाको दूधमा आधारित क्यान्डी तथा खाजा उत्पादन गर्ने मिल्किटा ब्रान्डका सामग्री बनाइन्छन् । ती उत्पादन ४० भन्दा बढी देशमा निर्यात हुँदै आएका छन् ।

इन्डोनेसियामा पछिल्ला वर्षमा भएका औद्योगिक आगलागीका घटनाले कार्यस्थलको सुरक्षा मापदण्ड र उद्योगमा आपत्कालीन तयारीको अवस्थाबारे चिन्ता बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan