Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बङ्गलादेशको गार्मेन्ट उद्योगमा आन्दोलनले घाटा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ६ आइतबार | (रासस/एएफपी)

पारिश्रमिक वृद्धिको माग गर्दै बङ्गलादेशमा जारी मजदुर आन्दोलनका कारण गार्मेन्ट उद्योगले चार करोड २८ लाख अमेरिकी डलर नोक्सानी व्यहोरेको छ । उत्पादक सङ्घका अनुसार आन्दोलनबाट ३१७ कारखानाको उत्पादन प्रभावित भएको छ भने २५ करोड ४० लाख डलर बराबरका अर्डर अन्य देशमा सरेका छन् ।

    मजदुरहरूले बढ्दो जीवनयापन खर्चअनुसार पारिश्रमिक नबढेको भन्दै हालको मासिक न्यूनतम ज्याला १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका (करिब २४० अमेरिकी डलर) पु¥याउन माग गरेका छन् । सरकारले नियुक्त गरेको तलब बोर्डले आगामी महिना नयाँ न्यूनतम ज्याला घोषणा गर्ने प्रतिबद्धता जनाए पनि अक्टोबरदेखि प्रदर्शन जारी छ ।

    चीनपछि विश्वको दोस्रो ठूलो गार्मेन्ट निर्यातकर्ता बङ्गलादेशमा चार हजारभन्दा बढी कारखाना छन् । उत्पादक सङ्घका अनुसार आन्दोलनबाट प्रभावित ६०० कारखानामध्ये ३१७ वटाले मात्र समयमै नोक्सानीको विवरण उपलब्ध गराएका छन् । त्यसैले वास्तविक क्षति अझ बढी हुन सक्ने सङ्घको भनाइ छ ।

    वार्षिक करिब ३८ अर्ब डलर आम्दानी गर्ने यस उद्योगले बङ्गलादेशको कुल निर्यात आयको ८० प्रतिशत हिस्सा ओगट्छ र ४० लाखभन्दा बढीलाई रोजगारी दिएको छ । मजदुर र प्रहरीबीचका झडपले उत्पादन तथा ढुवानी प्रभावित हुनुका साथै अन्तर्राष्ट्रिय खरिदकर्ताको विश्वासमा समेत असर परेको सङ्घले जनाएको छ । क्रिसमसका लागि माग बढ्ने समयमा देखिएको अवरोधले उद्योगको दीर्घकालीन छविमा समेत असर पार्न सक्ने सङ्घका महासचिव मोहम्मद साहेदुल इस्लामले बताउनुभएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan