झापा महिला गोल्डकप: झापा-११ सेमिफाइनल प्रवेश
झापा, ५ मङ्सिर : झापा महिला गोल्डकपको उद्घाटन खेलमा झापा-११ फलुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । आरएस पोखरा फुटबल क्लबलाई १०-० ले हराउँदै झापा-११ सेमिफाइनलमा प्रवेश गरेको हो ।
शिवसतासीस्थित दूधे रङ्गशालामा आजदेखि सुरु भएको खेलको पहिलो हाफमा प्रतिस्पर्धात्मक खेल पस्केको पोखराले दोस्रो हाफमा झापाले ८ हान्यो । झापाको जितमा सजिना स्याङताङले ह्याट्रिकसहित चार, ममता राउतले २ तथा सेमिहाङमा लिम्बू, सञ्जु तामाङ, अञ्जली चन्द र पुनम चेम्जोङले १-१ गोल गरे ।
झापाले पहिलो गोलका लागि खेलको ३६औँ मिनेट पर्खिनु पर्यो । झापाका लागि पहिलो गोल सेमिहाङमा लिम्बूले खेलको ३६औँ मिनेटमा गरेकी थिइन् । अञ्जली चन्दले गरेको कर्नर प्रहारमा डि-बक्समा रहेकी उनले वान टचमा गोल गरिन् । ४१औँ मिनेटमा झापाका लागि सजिना स्याङताङले गोल गरिन् । २-० ले अगाडि रहेको झापाका लागि ५५औँ मिनेटमा सजिनाले व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गरिन् ।
६५औँ मिनेटमा झापाका वैकल्पिक खेलाडी सञ्जु तामाङले मैदानको मध्यभागबाट सिंगल खेल्दै सुन्दर गोल गरिन् । ६६औँ मिनेटमा सजिनाले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । ७४औँ मिनेटमा झापाका ममता राउतले गोल गरिन् भने ७८औँ मिनेटमा अर्काे गोल थप्दै झापालाई बलियो अवस्थामा पुर्याइन् ।
ह्याट्रिक पूरा गरेकी सजिनाले ८०औँ मिनेटका अर्काे गोल थपेकी थिइन् । ८५औँ मिनेटमा झापाका पुनम चेम्जोङले गोल गरिन् । खेलको अतिरिक्त समयमा अञ्जली चन्दले गोल गर्दै १०-० को अवस्थामा खेललाई पुर्याएकी हुन् ।
आजको खेलमा प्लेयर अफ द म्याच विजेता झापाकी सजिना स्याङताङ घोषित हुँदै नगद रु १५ हजार पुरस्कार प्राप्त गरिन् । आइतबार विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र भारतको एभी एफसीबीच हुनेछ । प्रतियोगितामा आयोजक झापा–११ सहित आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, भुटानको थिम्पू राभेन वुमन एफसी, भारतको एभी फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, त्रिभुन आर्मी एफसी र सशस्त्र प्रहरीको एपिएफ एफसीको सहभागिता छ ।
प्रतियोगिताको विजेताले रु ११ लाख तथा उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट एक जना खेलाडीले रु एक लाख ५० हजार तथा उत्कृष्ट गोलकिपर, मिड फिल्डर, डिफेनडर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् ।
खेलको उद्घाटन शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले गरेका थिए । उनले यस रङ्गशालालाई एकेडेमीका रूपमा विकास गर्दै महिला फुटबल खेलाडी उत्पादनको गन्तव्य बनाउने धारणा राखेका थिए ।


