Sunday 22nd of November | २०८३ मङ्सिर ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘बालबालिकाको अधिकार संरक्षणका लागि महानगरपालिका प्रतिबद्ध छ’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ५ शनिबार |

ललितपुर, ५ मङ्सिर: ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालबालिकाको हकहित र अधिकार संरक्षणका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभएको छ । अन्तरराष्ट्रिय बालअधिकार दिवस-२०८३ को अवसरमा बालबालिकाको प्रतिभा उजागर, अधिकार संरक्षण र सिर्जनात्मक क्षमताको विकासमा जोड दिने उद्देश्यले ललितपुर महानगरद्वारा आज यहाँ आयोजित ‘बाल प्रतिभा प्रस्फुटन तथा बाल मेला’ कार्यक्रममा उहाँले सोकुरा बताउनुभएको हो ।

    प्रमुख महर्जनले बालबालिकाको अधिकार सुनिश्चित गर्न सुरक्षित वातावरण, मानसिक विकास, खेल्ने अवसर र आफ्नो रुचिअनुसार प्रतिभा प्रस्फुटन गर्ने वातावरण दिनका लागि महानगरले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । “हामीले महानगरभित्र सञ्चालन हुने विद्युतीय सटल बसमा बालबालिकालाई नि:शुल्क यात्रा सुविधा उपलब्ध गराउने तयारी गरेका छौँ । पाँच वटा विद्युतीय सटल बस ल्याइसकेकाले शीघै महानगरको कोर क्षेत्रमा सञ्चालन गर्ने तयारी छ”, उहाँले भन्नुभयो । 

    पहिला ललितपुरबाट लाङटाङ तथा गणेश हिमाल स्पष्ट देखिने गरेकामा अहिले वातावरणीय प्रदूषण र हरियालीको कमीका कारण हिमाल धमिलो देखिन थालेको प्रमुख महर्जनले उल्लेख गर्नुभयो । “बालबालिकालाई विगतको स्वच्छ वातावरण हस्तान्तरण गर्न नसक्नु अघिल्लो पुस्ताको योजना र निर्णयमा देखिएको कमजोरी हो, यीयस्ता अवस्थाको सुधारका लागि योजनाबद्ध काम गर्नेछौँ”, उहाँँले भन्नुभयो ।

    महर्जनले विगतमा महानगरका पार्कमा प्रशस्त देखिने जुनकिरी अहिले लोप हुँदै गएको उल्लेख गर्दै बालबालिकाले वास्तविक जीवनमा जुनकिरी देख्न पाउने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महानगरले हरियाली प्रवर्द्धन र पार्क निर्माणमा उल्लेखनीय काम गरेको बताउँदै उहाँले महानगरभित्र करिब ४० देखि ४२ वटा पार्क निर्माण गरिसकिएको जानकारी दिनुभयो ।

    लगनखेलस्थित सप्तपाताल पोखरी र पलेस्वाँ पुखु क्षेत्रलाई समेटेर करिब ३५ रोपनी क्षेत्रफलमा ‘ग्रिन एन्ड ब्लु फ्युजन’ परियोजना अघि बढाइएको जनाउँदै प्रमुख महर्जनले सप्तपाताल पोखरीको उद्घाटन भइसकेको बताउनुभयो । पलेस्वाँ पुखु परियोजना सम्पन्न भएपछि उक्त क्षेत्रमा जुनकिरी फर्काउने वातावरण निर्माण गरिने उहाँले जानकारी गराउनुभयो ।

    महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बालबालिकालाई घर तथा विद्यालयमा गाली गर्ने, कुटपिट गर्ने र अरूसँग तुलना गरेर होच्याउने प्रवृत्ति पनि बाल हिंसाकै स्वरूप भएको उल्लेख गर्दै यस्ता व्यवहार अन्त्य गर्न अभिभावक, शिक्षक र समाज सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

    उपप्रमुख बज्राचार्यले बालबालिकालाई अस्वस्थकर खानपानबाट जोगाउन घरको भान्छादेखि स्वस्थकर खानाको अभ्यास सुरु गर्नुपर्नेमा जोड दिनुभयो । बालबालिकाको शारीरिक विकाससँगै मानसिक विकास र रुचिका क्षेत्रलाई समेत प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।

    ललितपुर महानगरका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक राजु महर्जनले महानगरका २९ वटै वडामा बालअधिकार समिति र बाल क्लब सक्रिय रहेका जानकारी दिनुभयो । महानगरस्तरीय बालसञ्जालमार्फत बालबालिकाको नेतृत्व तथा क्षमता विकासका कार्यक्रम सञ्चालन भइरहेका भन्दै उहाँले बालबालिकालाई भविष्यमा महानगरको नेतृत्व तहमा पुग्न सक्ने गरी अभ्यास गराउने उद्देश्यले बालनगरसभा सञ्चालन भइरहेको उल्लेख गर्नुभयो ।

    बाल सञ्जालको नेतृत्व चयनमा समेत प्रतिस्पर्धात्मक निर्वाचन अभ्यास सुरु भएको बताउँदै उहाँले बाल हिंसा न्यूनीकरणका लागि विभिन्न वडामा कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्नुभयो । आठ वटा वडामा बाल हिंसामुक्त वडा घोषणा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

    कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले बालबालिकाविरुद्ध हुने अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो । बालबालिकामाथि हुने अपराधसम्बन्धी घटना हेर्न प्रहरी परिसरमा छुट्टै सेल र तालिमप्राप्त प्रहरी कर्मचारी रहेको जानकारी दिँदै उहाँले बालबालिकाको सुरक्षाका लागि हेल्पडेस्कसमेत स्थापना गरिएको बताउनुभयो ।

    ललितपुर महानगरलाई बालश्रममुक्त बनाउन महानगरसँग सहकार्य भइरहेको उल्लेख गर्दै उहाँले बालबालिकामाथि हुने हिंसा, शोषण तथा बालश्रमका घटनाबारे जानकारी गराउन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा बालबालिकाले आफ्ना प्रतिभा, कला र सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan