Saturday 21st of November | २०८३ मङ्सिर ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ'

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ४ शुक्रबार | (रासस)

सुदूरपश्चिम, ४ मङ्सिरः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्थानीय स्रोतसाधनको उपयोगबाट प्रदेशको आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्न सकिने बताउनुभएको छ ।

    प्रदेश नीति तथा योजना आयोगले आज धनगढीमा आयोजना गरेको विकास साझेदार संस्थाहरूसँगको अन्तरक्रियामा उहाँले उपलब्ध स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गरी आर्थिक उपार्जन र रोजगारी सिर्जना गर्नु प्रदेश सरकारको नीति तथा प्राथमिकता रहेको बताउनुभयो ।

    उहाँले स्पष्ट विकास लक्ष्य, दृढ इच्छाशक्ति र उपयुक्त दृष्टिकोणका साथ अघि बढे प्रदेशको समृद्धि हासिल गर्न सकिने धारणा राख्नुभयो ।

    मुख्यमन्त्री भट्टले उद्यमशीलता र नवप्रवर्तनसम्बन्धी कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न विकास साझेदार संस्थाहरूको सहयोग आवश्यक रहेको बताउनुभयो । विशेषगरी पहाडी क्षेत्रमा बढ्दो बसाइँसराइ रोक्न, विपद्का जोखिम न्यूनीकरण तथा पूर्वतयारी गर्न र स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

    आयोगका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री भट्टले अर्थतन्त्रको सबलीकरण अहिलेको आवश्यकता भएको उल्लेख गर्दै त्यसबाट मात्रै विद्यमान समस्या समाधान गर्न सकिने बताउनुभयो । प्रदेश सरकार विकासका गतिविधिमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदारसँग सहकार्य र समन्वय गर्न तयार रहेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा आयोगका उपाध्यक्ष गोकर्णप्रकाश भट्टले प्रदेश सरकारका विकास प्राथमिकतामा लगानी साझेदारी गर्न विकास साझेदार संस्थाहरूलाई आग्रह गर्नुभयो । त्यसका लागि आवश्यक नीतिगत, कानुनीलगायतका विषयमा आयोगले सहजीकरण र समन्वय गर्ने उहाँले बताउनुभयो ।

    कार्यक्रममा आयोगका सदस्य हिरा चन्दसहित प्रदेशका विभिन्न क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan