Saturday 21st of November | २०८३ मङ्सिर ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनपिएल फाइनलः लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ४ शुक्रबार |

काठमाडौँ, ४ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच शनिबार प्रतिस्पर्धा हुँदैछ । लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ भने लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा छ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलअघि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले उपाधि जित्ने आत्मविश्वास व्यक्त गर्नुभयो ।

    लुम्बिनीका कप्तान रोहित पौडेलले पर्याप्त विश्राम र अभ्यासपछि टोली फाइनलका लागि तयार रहेको बताउनुभयो । उहाँका अनुसार टोलीले तीन दिनको विश्राममध्ये दुई दिन आराम र एक दिन अभ्यासमा बिताएको थियो ।

    लिग चरणमा शीर्ष स्थान हासिल गर्दै प्लेअफमा पुगेको र जितको लय कायम राखेको भए पनि फाइनलमा त्यसले मात्र नतिजा निर्धारण नगर्ने पौडेलले बताउनुभयो । क्रिकेट सामूहिक प्रदर्शनमा निर्भर रहने खेल भएकाले उपाधि जित्न मैदानमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने उहाँको भनाइ थियो ।

    एनपिएलमा सुदूरपश्चिमविरुद्ध पछिल्ला तीन खेल जितेको भए पनि उसलाई कमजोर आँक्न नहुने पौडेलले बताउनुभयो । सुदूरपश्चिम बलियो प्रतिद्वन्द्वी भएकाले फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने उहाँको भनाइ थियो ।

    लगातार दोस्रोपटक कप्तानका रूपमा उपाधि जित्ने अवसरलाई व्यक्तिगत उपलब्धिभन्दा पनि टोलीको सफलताका रूपमा लिएको उहाँले बताउनुभयो । फाइनलसम्म आइपुग्न सबै खेलाडीले मिहिनेत गरेकाले उपाधि जित्नु टोलीका लागि महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

    सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिलो क्वालिफायरमा लुम्बिनीसँग व्यहोरेको हारको बदला लिँदै उपाधि जित्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले लुम्बिनीको बलियो बलिङ आक्रमणलाई फाइनलको मुख्य चुनौतीका रूपमा लिएको उल्लेख गर्नुभयो ।

    फाइनलका लागि टोलीको तयारी राम्रो भइरहेको बताउँदै ऐरीले लुम्बिनीको बलिङ सामना गर्ने रणनीतिमा विशेष ध्यान दिइएको जानकारी दिनुभयो । जारी प्रतियोगितामा विदेशी खेलाडी आउने र जाने क्रमले टोलीको संयोजनमा परिवर्तन गर्नुपरेको उहाँले बताउनुभयो । विदेशी खेलाडी बाहिरिँदा नयाँ खेलाडी भित्र्याउनुपर्ने अवस्थाले ब्याटिङ क्रम व्यवस्थापनमा चुनौती थपिएको उहाँको भनाइ थियो ।

    लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिम यसअघि दुवै संस्करणमा उपविजेतामा सीमित भएको थियो । यसपटक भने टोली पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan