Sunday 22nd of November | २०८३ मङ्सिर ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जलवायु वार्तामा विकसित र विकासशील राष्ट्रबीच मतभेद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ५ शनिबार | (रासस/एएफपी)

तेल, ग्यास र कोइलाको प्रयोग घटाउने तथा अन्त्य गर्ने विषयमा सदस्य राष्ट्रहरूबीच सहमति जुट्न नसक्दा टर्कीमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) निर्धारित समयभन्दा लम्बिएको छ ।

करिब २०० देशका प्रतिनिधि सहभागी दुई सातादेखिको वार्ता शुक्रबार सम्पन्न हुनुपर्ने भए पनि ऊर्जा नीति, वैज्ञानिक अनुसन्धान र जलवायु वित्तसम्बन्धी मतभेदका कारण शनिबारसम्म लम्बिएको हो ।

सम्मेलनको अध्यक्षता गरिरहेको अस्ट्रेलियाले सहमति जुटाउन तेस्रो मस्यौदा तयार पार्ने प्रयास गरिरहेको छ । सम्मेलन अध्यक्ष तथा टर्कीका वातावरणमन्त्री मुरात कुरुमले सहमति नजिक पुगे पनि अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताउनुभयो ।

यसअघि सार्वजनिक गरिएको पहिलो मस्यौदामा तेल, ग्यास र कोइलाको प्रयोग छिटो चरणबद्ध रूपमा अन्त्य गर्नुपर्ने प्रस्ताव समावेश थियो । तर, बिहीबार सार्वजनिक दोस्रो मस्यौदाबाट यससम्बन्धी सबै उल्लेख हटाइएपछि विवाद चर्किएको हो ।

युरोपेली सङ्घले संशोधित मस्यौदाले जलवायु सम्मेलनलाई नै तेल तथा ग्यास सम्मेलनमा परिणत गर्ने जोखिम रहेको टिप्पणी गरेको छ। फ्रान्स, पानामा र सोलोमन टापुलगायत करिब एक दर्जन देशले सम्झौतामा यी इन्धनको प्रयोगबाट बाहिरिने स्पष्ट प्रतिबद्धता समावेश गर्न माग गरेका छन् ।

यसैबीच, सन् २०३५ सम्म विश्वको कुल ऊर्जा मागमा विद्युत्को हिस्सा ३५ प्रतिशत पुर्‍याउने प्रस्ताव अघि सारिएको छ। तर, विद्युत् उत्पादन नवीकरणीय ऊर्जाबाटै हुनुपर्ने स्पष्ट व्यवस्था नहुँदा केही देशले असन्तुष्टि जनाएका छन् ।

जलवायु अनुकूलनका लागि प्रस्ताव गरिएको १२० अर्ब अमेरिकी डलरको लक्ष्य मस्यौदाबाट हटाइएपछि विकासशील राष्ट्रहरू पनि असन्तुष्ट बनेका छन्। घानाकी वातावरणमन्त्री जानेटोर अगेमान–रावलिङ्सले भन्नुभयो, “हामी यहाँ भीख माग्न आएका होइनौँ ।”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan