Sunday 22nd of November | २०८३ मङ्सिर ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ५ शनिबार | (रासस/एपी)

इरान युद्धले हर्मुज जलघाँटीको समुद्री वातावरण र वन्यजन्तुमा पारेको जोखिम उजागर गर्न बेलायती पौडी खेलाडी लुइस पुघले द्वन्द्वग्रस्त जलमार्गमा तीन दिन लगाएर करिब १५ किलोमिटर पौडी खेल्नुभएको छ ।

    संयुक्त राष्ट्रसङ्घका महासागरसम्बन्धी संरक्षकसमेत रहनुभएका ५६ वर्षीय पुघले पौडीका क्रममा नजिकै तेल ट्याङ्करमा आक्रमण हुँदा विस्फोट भएको देख्नुभयो । उहाँका अनुसार जहाजमा भएको आक्रमण र त्यसबाट फैलिने तेल तथा रासायनिक प्रदूषणले समुद्री जीव, मुगा चट्टान र म्यान्ग्रोभ वनलाई दीर्घकालीन जोखिममा पार्न सक्छ ।

    उहाँले युद्धअघि ओमानी तटमा पौडी खेल्दा देखेका सयौँ समुद्री कछुवा तथा यसपटक डल्फिन र ओस्प्रे चराहरूको उपस्थितिले यस क्षेत्रको प्राकृतिक महत्त्व स्मरण गराएको बताउनुभयो । तेल प्रदूषण सफा गर्न कठिन हुने र यसको असर पुस्तौँसम्म रहन सक्ने उहाँको भनाइ छ ।

    युद्धका क्रममा दर्जनौँ ट्याङ्कर क्षतिग्रस्त भएका छन् । इरानले जलमार्गमा आफ्नो नियन्त्रण कायम गर्ने प्रयासस्वरूप जहाजमाथि आक्रमण बढाएको छ । युद्धअघि विश्वको कुल तेल कारोबारको करिब पाँचौँ भाग हर्मुज जलघाँटी हुँदै ओहोरदोहोर हुने गरेको थियो ।

    समुद्री वातावरण संरक्षणका लागि चार दशकदेखि सक्रिय पुघले उत्तरी ध्रुव, अन्टार्कटिका र विश्वका विभिन्न समुद्री क्षेत्रमा पौडी खेलेर वातावरणीय मुद्दामा ध्यान आकर्षित गर्दै आउनुभएको छ । उहाँले युद्ध रोक्न, हर्मुज जलघाँटी खुला राख्न र प्रदूषण सफा गर्नुपर्ने सन्देश दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan