Sunday 22nd of November | २०८३ मङ्सिर ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्रीको भारत भ्रमणअघि कांग्रेसको असन्तुष्टि, भन्यो– राष्ट्रिय सहमति निर्माणमा सरकार चुकेको छ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ५ शनिबार |

काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण सफल र उपलब्धिमूलक होस् भन्ने शुभकामना व्यक्त गर्दै राष्ट्रिय महत्त्वका विषयमा प्रमुख प्रतिपक्षलगायत राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ।

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमण दुई मित्रराष्ट्रबीचको सम्बन्ध थप प्रगाढ बनाउनुका साथै नेपालको सर्वोत्तम राष्ट्रिय हितमा उपयोग हुनुपर्ने बताएका छन्।

शर्माले मित्रराष्ट्रहरूको महत्त्वपूर्ण भ्रमणअघि राष्ट्रिय हितका विषयमा साझा धारणा निर्माण गर्न प्रमुख प्रतिपक्षसहित राजनीतिक दलहरूसँग परामर्श गर्ने लोकतान्त्रिक परम्परा रहेको उल्लेख गर्दै वर्तमान सरकारले त्यसलाई निरन्तरता दिन नसकेको बताएका छन्।

कांग्रेसले भारतसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यका सम्भावित विषयमा सरकारलाई रचनात्मक सुझाव दिने तयारी गरेको जनाएको छ। जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रका नागरिकका सरोकार तथा भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायत विषयमा गत बुधबार विषयविज्ञहरूको सहभागितामा विशेष आन्तरिक विमर्शसमेत गरेको विज्ञप्तिमा उल्लेख छ।

तर, सरकारले प्रमुख प्रतिपक्ष, अन्य राजनीतिक दल तथा विषयविज्ञसँग परामर्श गर्न आवश्यक नठानेपछि सरकारले नमागेको औपचारिक सुझाव आफैँ अघि सारिरहन उचित नठानेको कांग्रेसको भनाइ छ।

प्रधानमन्त्री कुनै एक दल वा सरकारको मात्र नभई सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जान लागेको उल्लेख गर्दै कांग्रेसले राष्ट्रिय हितका विषयमा व्यापक परामर्श र साझा समझदारी निर्माण हुन सके अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडान थप बलियो हुने जनाएको छ।

यद्यपि, सरकारको उक्त कमजोरीलाई प्रधानमन्त्रीको भ्रमणको विषयवस्तुसँग जोडेर हेर्न नहुने कांग्रेसको धारणा छ। सरकारसँग विभिन्न असहमति भए पनि नेपालको राष्ट्रिय हित र मित्रराष्ट्र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा आफ्नो प्रतिबद्धता स्पष्ट र अटल रहेको शर्माले बताएका छन्।

कांग्रेसले प्रधानमन्त्रीको भारत भ्रमण क्षणिक लोकप्रियता र प्रचारमा मात्र सीमित हुन नहुनेमा जोड दिएको छ। विगतका प्रतिबद्धता कार्यान्वयन, विद्यमान समस्याको ठोस समाधान र पारस्परिक हितमा आधारित दीर्घकालीन सहकार्यको नयाँ आधार निर्माण गर्न भ्रमण उपयोगी हुनुपर्ने उसको अपेक्षा छ।

भ्रमणको सफलता औपचारिक स्वागत, संयुक्त वक्तव्य वा घोषणाले नभई त्यसबाट नेपाल र नेपाली नागरिकले प्राप्त गर्ने ठोस परिणामले निर्धारण गर्ने कांग्रेसले स्पष्ट पारेको छ।

प्रधानमन्त्री वालेन्द्र शाह मंसिर ६ गतेदेखि मित्रराष्ट्र भारतको भ्रमणमा जाँदै छन्। कांग्रेसले भ्रमणको पूर्ण सफलताको कामनासमेत गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan